चन्द्रनिगाहपुर : लामो समयदेखि रौतहट जिल्लाको पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार दिपु मिश्र नेपाल प्रेस युनियन रौतहटको जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्।
चन्द्रनिगाहपुरमा आयोजित नेपाल प्रेस युनियन रौतहटको जिल्ला अधिवेशनले मिश्रलाई अध्यक्षमा निर्वाचित गरेको हो। पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील मिश्र जिल्लाको पत्रकारिता क्षेत्रसँगै पत्रकारहरूको पेशागत हकहित र संस्थागत गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्यद्वय सञ्जय कार्की एवं शिव पुरीको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो। कार्यक्रममा युनियनमा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो।
यसै वर्ष नेपाल प्रेस युनियन रौतहटका पूर्वअध्यक्ष स्वर्गीय प्रीमेश सिवाकोटीको असामयिक निधन भएकाले यसपटकको अधिवेशनलाई भव्य कार्यक्रमका रूपमा आयोजना नगरी सामान्य तथा संक्षिप्त कार्यक्रमका बीच सम्पन्न गरिएको थियो।
अधिवेशनका क्रममा स्वर्गीय सिवाकोटीप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारिता क्षेत्रमा उनले पुर्याएको योगदानको स्मरण गरिएको थियो। उनको निधनले रौतहटको पत्रकारिता क्षेत्र तथा नेपाल प्रेस युनियनलाई अपूरणीय क्षति पुगेको सहभागीहरूले बताएका थिए।
नवनिर्वाचित अध्यक्ष मिश्रको नेतृत्वमा नेपाल प्रेस युनियन रौतहटले पत्रकारहरूको पेशागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको क्षमता अभिवृद्धि र संस्थागत सुदृढीकरणका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।
रौतहटमा पत्रकारिता क्षेत्र विस्तार हुँदै गएको अवस्थामा पत्रकारहरूको व्यावसायिक सुरक्षा, क्षमता विकास तथा पत्रकारबीचको एकतालाई थप मजबुत बनाउने जिम्मेवारी नयाँ नेतृत्वसामु रहेको छ।
