May 26, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

“मृत्युको मार्ग बन्दै मधेसका सडक : खाडल, चौपाया र मौन समाजबीच हराउँदै नागरिकको ज्यान“

२०८३ जेष्ठ ११

515

  • विश्व प्रकाश शर्मा
    मधेस प्रदेश पछिल्लो समय विकासको भन्दा दुर्घटनाको खबरले बढी चिनिन थालेको छ । बिहान घरबाट निस्किएको मानिस साँझ घर फर्किन्छ कि फर्किँदैन भन्ने भय सामान्य बन्दै गएको छ । सडक विस्तार र निर्माणका नाममा छाडिएका अधुरा काम, बीच सडकमा बनाइएका खाडल, खुला रूपमा छाडिएका गाईवस्तु, राजमार्गमै मकै सुकाउने प्रवृत्ति र त्यसप्रति स्थानीय तह तथा समुदायको खतरनाक मौनताले मधेसका सडकलाई यात्रा गर्ने बाटो होइन, मृत्युको पासो बनाइरहेको छ ।
    सबैभन्दा डरलाग्दो पक्ष के छ भने दुर्घटना अब “दुर्भाग्य” मात्र होइन, व्यवस्थागत लापरबाही र सामाजिक गैरजिम्मेवारीको प्रत्यक्ष परिणाम बन्न थालेको छ ।
    पछिल्ला केही सातामै धनुषा, महोत्तरी, बारा, रौतहट, सप्तरी, सिरहा लगायत जिल्लाका विभिन्न सडकखण्डमा भएका दुर्घटनाले अवस्था कति भयावह बन्दै गएको छ भन्ने स्पष्ट देखाइसकेको छ । कतै निर्माणाधीन सडकमा डाइभर्सन नहुँदा बस दुर्घटनामा परेका छन्, कतै रातिको समयमा संकेत बोर्ड बिना बनाइएका खाडलमा मोटरसाइकल चालकको ज्यान गएको छ । कतिपय स्थानमा कालोपत्रे उधारिएको सडक, अलपत्र पुल र वर्षौंदेखि अधुरो निर्माणले यात्रुलाई दैनिक जोखिममा धकेलिरहेको छ ।
    निर्माण कम्पनीहरूले काम थाले पनि सुरक्षा मापदण्ड पालनामा चरम लापरबाही देखिएको छ । राति बत्ती हुँदैन, चेतावनी बोर्ड राखिँदैन, वैकल्पिक बाटो स्पष्ट हुँदैन । तीव्र गतिमा आइरहेको सवारी अचानक खाडलमा पर्दा दुर्घटना हुनु अब अस्वाभाविक रहेन।
    तर समस्या केवल राज्यको ढिलासुस्ती मात्र होइन, समाजभित्र मौलाउँदै गएको गैरजिम्मेवारी पनि हो ।
    मधेसका धेरै क्षेत्रमा गाई, गोरु, भैंसी, खसी र बाख्रा सडकमा जथाभावी छाड्ने प्रवृत्ति भयावह रूपमा बढेको छ । सडकलाई चरन क्षेत्र बनाइएको छ । रातिको समयमा कालो सडकमा कालै चौपाया देख्न नसक्दा मोटरसाइकल र साना सवारी ठोक्किने घटना दिनहुँजसो सुनिन थालेका छन् । केही दिनअघि मात्र पूर्व–पश्चिम राजमार्गका विभिन्न खण्डमा चौपायासँग सवारी ठोक्किँदा चालकको मृत्यु भएका घटनाले यो समस्या कति गम्भीर छ भन्ने फेरि उजागर गरिदियो तर दुर्घटनापछि केही समय आक्रोश देखिए पनि फेरि उही लापरबाही दोहोरिन्छ ।
    अहिले मधेसमा अर्को खतरनाक दृश्य सामान्य बन्दै गएको छ । सडकभरि मकै सुकाउने प्रवृत्ति । ग्रामीण सडक मात्र होइन, कतिपय राजमार्गमै बिस्कुन बनाएर मकै सुकाइन्छ । यसले मोटरसाइकल चिप्लिने, सवारी असन्तुलित हुने, आकस्मिक ब्रेक लाग्दा दुर्घटना हुने र आवतजावत नै अवरुद्ध हुने अवस्था सिर्जना गरेको छ । सडक सार्वजनिक सम्पत्ति हो भन्ने चेतना हराउँदै गएको छ, जहाँ नियमभन्दा व्यक्तिगत सुविधा ठूलो बनाइएको छ ।
    तर प्रश्न उठ्छ — यी सबै देख्दा पनि स्थानीय तह किन मौन छ ? सडकमा चौपाया छाडिँदा नियन्त्रण किन हुँदैन? निर्माण कम्पनीलाई जवाफदेही किन बनाइँदैन ? राजमार्गलाई खेत र आँगनमा बदलिँदा प्रशासन किन चुप छ ?
    यही मौनताले दुर्घटनालाई सामान्य बनाइदिएको छ । जब सडकमा खाडल हुन्छ र कसैले प्रश्न उठाउँदैन, जब राजमार्गमा गाई सुतेको हुन्छ र कसैले हटाउँदैन, जब सडकभरि मकै सुकाइन्छ र कसैले रोक्दैन, त्यो केवल अव्यवस्था होइन, त्यो सामूहिक असफलता हो ।
    दुर्घटना बढ्नुको अर्को कारण कमजोर कार्यान्वयन र चेतनाको कमी पनि हो । ट्राफिक नियमलाई अझै धेरैले बाध्यता होइन, झन्झटको रूपमा हेर्छन् । ओभरस्पिड, हेल्मेट बिना यात्रा, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति पनि उत्तिकै जिम्मेवार छन् तर नागरिकलाई मात्र दोष दिएर राज्य उम्किन मिल्दैन । सुरक्षित सडक सुनिश्चित गर्ने पहिलो दायित्व सरकारकै हो ।
    स्थानीय तहहरू सडक सुरक्षामा लगभग निष्क्रिय देखिन्छन् । धेरै पालिकामा चौपाया व्यवस्थापनको स्पष्ट नीति छैन । कृषि उत्पादन सुकाउने वैकल्पिक सार्वजनिक संरचना छैन । निर्माण कम्पनीमाथिको अनुगमन कमजोर छ । ट्राफिक जनचेतना कार्यक्रम औपचारिकतामा सीमित छ । विकासका भाषण चर्का छन्, तर सडकमा नागरिकको सुरक्षा कमजोर छ ।
    मधेसमा बढ्दो दुर्घटना केवल ट्राफिक समस्या होइन, यो शासनको संवेदनहीनता, कमजोर कार्यान्वयन र समाजको बेवास्ताको संयुक्त परिणाम हो । दुर्घटना अब “अचानक हुने घटना” होइन, “पहिल्यै अनुमान गर्न सकिने त्रासदी” बनिसकेको छ । किनकि कारण सबैलाई थाहा छ, तर समाधानतर्फको इच्छाशक्ति कमजोर छ ।
    समाधान असम्भव छैन तर त्यसका लागि कठोर निर्णय र सक्रियता चाहिन्छ । अधुरा सडक निर्माण तत्काल व्यवस्थित गर्नुपर्छ । निर्माण कम्पनीलाई समयसीमा र सुरक्षा मापदण्डमा कडाइ गर्नुपर्छ । खुला चौपाया नियन्त्रणका लागि पालिकाले स्पष्ट नियम र जरिवाना लागू गर्नुपर्छ। सडकमा कृषि उत्पादन सुकाउने कार्य पूर्ण रूपमा निषेध गरिनुपर्छ र त्यसका लागि वैकल्पिक स्थान निर्माण गर्नुपर्छ । साथै स्थानीय प्रशासन, ट्राफिक प्रहरी र समुदायबीच संयुक्त सडक सुरक्षा अभियान सञ्चालन गरेर “सडक सार्वजनिक जीवन हो” भन्ने चेतना विकास गर्न आवश्यक छ ।
    नत्र मधेसका सडकमा कालोपत्रे थपिएला, गाडी बढ्लान्, विकासका भाषण अझ चर्केलान् तर नागरिकको ज्यान भने दिनप्रतिदिन सस्तो बन्दै जानेछ ।
    (लेखक राजनीतिक विश्लेषक तथा युवा नेता हुन्)