August 26, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

नेपाल–अमेरिका सम्बन्धलाई नयाँ आर्थिक दिशामा लैजानुपर्छ : परराष्ट्रमन्त्री खनाल

२०८३ भाद्र ९

80

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–अमेरिका सम्बन्धलाई परम्परागत विकास सहायताको दायराबाट अघि बढाउँदै लगानी, व्यापार, प्रविधि र उद्यमशीलतामा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
अमेरिकी स्वतन्त्रताको २५० औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा सेन्टर फर साउथ एसियन स्टडिज–नेपालले आयोजना गरेको कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै मन्त्री खनालले नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको तयारीमा रहेकाले द्विपक्षीय सम्बन्धलाई नयाँ आर्थिक आधारमा अघि बढाउनुपर्ने बताउनुभयो ।
“नेपालले सहायता निर्भर अर्थतन्त्रबाट निजी क्षेत्रको गतिशीलता, प्रत्यक्ष वैदेशिक लगानी र उच्च मूल्यका व्यापारतर्फ निर्णायक रूपमा रूपान्तरण गरिरहेको छ,” उहाँले भन्नुभयो, “अब हाम्रो द्विपक्षीय सम्बन्ध पनि यसैअनुरूप अघि बढ्नुपर्छ ।”
मन्त्री खनालले नेपाल–अमेरिका आर्थिक सहकार्यलाई तीन रणनीतिक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । पहिलो, नेपालको दक्ष युवा तथा सूचना प्रविधि जनशक्तिलाई अमेरिकी नवप्रवर्तन प्रणाली र पूँजीसँग जोड्दै डिजिटल रूपान्तरणलाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । “हामी नेपालको प्रतिभाशाली युवा तथा आईटी जनशक्तिलाई अमेरिकी नवप्रवर्तन र पूँजीको पारिस्थितिक प्रणालीसँग जोड्न चाहन्छौँ,” उहाँले भन्नुभयो । दोस्रो, स्वच्छ ऊर्जा र जलवायु उत्थानशीलतामा सहकार्य विस्तार गर्नुपर्ने उहाँले बताउनुभयो। दिगो जलविद्युत्, सीमापार विद्युत् प्रसारण संरचना तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षण यसका प्राथमिक क्षेत्र हुने उहाँको भनाइ थियो ।
तेस्रो, अमेरिकामा रहेको नेपाली डायस्पोराको ज्ञान, सीप, पूँजी र उद्यमशीलतालाई प्रविधि हस्तान्तरण, व्यापारिक सम्बन्ध तथा उद्यम विकाससँग जोड्नुपर्ने मन्त्री खनालले बताउनुभयो। “अमेरिकामा रहेको जीवन्त नेपाली डायस्पोरालाई प्रविधि हस्तान्तरण, व्यापारिक सम्बन्ध र उद्यम विकासको माध्यमबाट नेपालको आर्थिक रूपान्तरणसँग जोड्नुपर्छ,” उहाँले भन्नुभयो ।