May 20, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

“अनामनगरको ‘नयाँ अफिस’ कि पुरानै रोग? कांग्रेसभित्रको शक्ति–संघर्ष फेरि सतहमा”

फाईल तस्विर ।
२०८३ जेष्ठ ५

1.9K

  • विश्व प्रकाश शर्मा
    नेपाली कांग्रेसभित्र लामो समयदेखि सल्किँदै आएको गुटीय द्वन्द्व फेरि खुलेआम देखिन थालेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अनामनगरमा छुट्टै पार्टी कार्यालय स्थापना गरेको घटनाले ‘पार्टी फुटको पूर्वसंकेत हो कि शक्ति सन्तुलनको खेल ?’ भन्ने बहसलाई तीव्र बनाएको छ ।
    सतहमा हेर्दा यो संगठन विस्तारको सामान्य अभ्यास जस्तो देखिए पनि भित्री राजनीति भने निकै जटिल छ । एउटै पार्टीभित्र समानान्तर संरचना खडा हुनु केवल व्यवस्थापनको विषय होइन, विश्वासको संकटको संकेत पनि हो । कांग्रेसभित्र अहिले देखिएको अवस्था त्यही गहिरो अविश्वासको परिणाम हो, जहाँ नेतृत्वबीच संवादभन्दा शंका बढी छ ।
    देउवा समूहको यो कदमलाई धेरैले रणनीतिक ‘प्रेशर पोलिटिक्स’ को रूपमा व्याख्या गरेका छन् । पार्टीभित्र आफ्नो प्रभाव कायम राख्न र आगामी महाधिवेशन तथा शक्ति सन्तुलनमा पकड बलियो बनाउन यस्तो कदम चालिएको बुझाइ छ तर आलोचकहरू भन्छन् “यदि एउटै छानामुनि विश्वास टिक्न सकेन भने छुट्टै भवनले के समाधान दिन्छ ?” इतिहासले पनि कांग्रेसलाई यही प्रश्न सोधिरहेको छ । गिरिजाप्रसाद कोइरालासँगको मतभेदपछि देउवाले ‘राष्ट्रिय कांग्रेस’ गठन गरी ‘कलश’ चुनाव चिन्हसहित अलग बाटो रोजेको घटना अझै ताजा छ। अन्ततः त्यो प्रयोग असफल भएर पुनः एकता भयो। आज फेरि त्यही प्रवृत्ति दोहोरिने संकेत देखिँदा कार्यकर्तामा अन्योल छ—के ‘कलश’ पछि अब ‘शंख’ को तयारी हो ?
    पछिल्लो समय प्रदेश–प्रदेशमा भइरहेका गुटभेला, शीर्ष नेताहरूबीच बाक्लिँदै गएको छुट्टाछुट्टै बैठक, र समानान्तर शक्ति प्रदर्शनले पार्टीभित्रको दूरी स्पष्ट देखाइरहेको छ । प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र कोइराला परिवारबीचको सूक्ष्म प्रतिस्पर्धा अहिले खुला संघर्षतिर उन्मुख भएको विश्लेषण भइरहेको छ । राजनीतिक वृत्तमा यसलाई ‘शकुनि चाल’ को संज्ञा दिँदै, रणनीतिक रूपमा एक–अर्कालाई कमजोर बनाउने खेल चलिरहेको आरोप लागिरहेको छ ।
    यसबीच कार्यकर्ता भने अन्योलमा छन् । उनीहरूका लागि पार्टी विचार र आदर्शको केन्द्र हो कि नेताहरूको व्यक्तिगत सत्ता संघर्षको अखडा ? एमाले फुटाएर नयाँ दल बनाएका माधवकुमार नेपालको उदाहरण दिँदै धेरै कार्यकर्ता भन्छन् “नेताहरू लड्छन्, बोक्ने भार कार्यकर्ताले नै हुन्छ ।”
    राजनीतिक विश्लेषकहरू भन्छन् —कांग्रेस अहिले निर्णायक मोडमा उभिएको छ । यदि गुटीय स्वार्थ हावी भइरह्यो भने पार्टी पुनः विखण्डनको दिशातर्फ जान सक्छ तर यदि आत्मसमिक्षा र समावेशी नेतृत्व विकासमा जोड दिइयो भने यही संकट अवसर पनि बन्न सक्छ । वास्तवमा प्रश्न अफिस खोल्ने कि नखोल्ने होइन, प्रश्न विश्वासको हो। एउटै पार्टीभित्र बस्नेहरूबीच नै विश्वास छैन भने संगठन केवल नाममा सीमित हुन्छ ।
    अन्ततः कांग्रेसले अब निर्णय गर्नैपर्छ : 
    के यो यात्रा एकताको हुनेछ, कि फेरि विभाजनको पुरानै कथा दोहोरिनेछ ?
    राजनीतिक वृत्तमा अहिले एउटै वाक्य घन्किरहेको छ : 
    “आउनेलाई हात फिजाइ स्वागत, जानेलाई दुई हात जोडी विदाइ… तर पार्टी जोगाउने जिम्मा कसको ?”
    (लेखक नेपाली कांग्रेस युवा नेता / राजनीतिक शास्त्र अध्ययनरत हुन्)