काठमाडौँ : भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।
गुरुङले किओच बाल अस्पतालको वेस्ट ब्लक भवन निर्माणका लागि हालसम्म ७१ करोड रुपैयाँभन्दा बढी दान गरेका हुन् ।
जेठ ९ गते नवनिर्मित भवन उद्घाटन तथा भवन हस्तान्तरण कार्यक्रम हुने भएको छ । अस्पतालका अनुसार अत्याधुनिक भवन निर्माण अन्तिम चरणमा पुगे पनि बालबालिकाको गुणस्तरीय उपचारका लागि अत्यावश्यक मानिएको एमआरआई र सिटी स्क्यान मेसिन अभावमा अस्पताल पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी रहेको छ ।
किओचको निर्माणाधीन अस्पतालका लागि आवश्यक एमआरआई र सिटी स्क्यान मेसिन खरिद अभियानमा हालसम्म दुई करोड २४ लाख ७३ हजार ३३३ रुपैयाँभन्दा बढी सहयोग प्रतिबद्धता प्राप्त भएको अस्पतालले जनाएको छ ।
डा भगवान कोइरालाको नेतृत्वमा देशका ७ प्रदेशमा ७ वटा बाल अस्पताल बनाउने लक्ष्य लिइएको छ । यो अस्पतालले विशेषगरी जटिल रोगबाट ग्रसित बालबालिकाहरूका लागि स्वदेशमै उपचारको ढोका खोल्नेछ ।
अस्पतालले नेपालमा विशेषज्ञ बाल स्वास्थ्य सेवाको अभावलाई सम्बोधन गर्ने उद्देश्य राखेको छ । यस कार्यमा गुरुङको सहयोगले ठुलो मद्दत पुगेको अस्पताल प्रशासन बताउँछ ।

