काठमाडौं : प्रधानन्यायाधीशमा नियुक्तिका निम्ति सिफारिस गरिएका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । मंगलबार (जेठ ५) बिहान बसेको समिति बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध प्राप्त उजुरीका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाइएको हो ।
बैठकमा सदस्यलाई सम्बोधन गर्दै समिति सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध प्राप्त उजुरीको व्यवस्थापन र वितरणका सम्बन्धमा जानकारी दिए । प्राप्त उजुरीमध्ये केही इमेलमार्फत र खामबन्दी अवस्थामा छन् ।
‘गोप्य’ भनी वर्गीकरण गरिएका उजुरीको गोपनीयता कायम राख्न उजुरीकर्ताको नाम हटाएर (कोडिङ गरेर) मात्र सदस्यलाई अध्ययनका निम्ति उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिइएको छ । यी उजुरीको संवेदनशीलतालाई ध्यानमा राख्दै गोपनीयता कायम गरिदिन सांसद र सञ्चारकर्मीलाई समेत आग्रह गरिएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले समितिसमक्ष आफ्नो कार्ययोजना पेस गरेका छन् । उक्त कार्ययोजनाको विवरण समितिका सदस्यलाई अध्ययनका निम्ति वितरण गरिएको छ । सदस्यहरूको मागअनुसार कार्ययोजनाको विद्युतीय प्रति समेत उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिइएको छ ।
सुनुवाइ प्रक्रियालाई व्यवस्थित बनाउन समितिले आउँदो कार्यदिशा समेत तय गरेको छ । उजुरीका सम्बन्धमा छलफल गर्ने, उजुरीकर्तालाई समितिमा उपस्थित गराउने र प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी सुनुवाइ सम्पन्न गर्नेलगायत विषयमा सम्भावित कार्ययोजना तयार पारिएको छ । सचिवालयद्वारा प्रस्तावित उक्त कार्ययोजनामाथि सदस्यले धारणा राखिरहेका छन् ।
प्रस्तावित प्रधानन्यायाधीशको योग्यता, क्षमता र भावी योजनाका सम्बन्धमा विस्तृत छलफल गरी समितिले उनको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय लिनेछ । (साभार : बाह्रखरी)

