April 22, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

चुनाव हारे पनि कुर्सी जित्ने कला : नयाँ राजनीति कि पुरानै शैलीको नयाँ प्याकेट ?

२०८३ बैशाख ८

180

  • विश्व प्रकाश शर्मा
    चुनाव जिते मन्त्री, हारेपछि महामन्त्री नेपालको राजनीतिमा यो अब कुनै व्यंग्य मात्र रहेन, व्यवहारिक पाठ्यक्रम जस्तै बन्न थालेको छ । जनताले मत दिएनन् भने पनि सत्ता वा शक्ति टाढा जाँदैन, केवल कुर्सीको नाम फेरिन्छ ।
    भूपदेव शाहलाई चुनावअघि “बालेन सरकारका भावी मन्त्री” भनेर जसरी प्रस्तुत गरियो, त्यसले धेरैलाई लाग्यो—अब राजनीतिमा नयाँ अनुहारसँगै नयाँ संस्कार पनि आउँदैछ । अछाम पुगे, चुनाव लडे, जनताको अदालतमा उभिए तर फैसला अपेक्षाअनुसार आएन। जित त परको कुरा, चौथो स्थानमै सीमित हुनुपर्यो ।
    सामान्य राजनीतिमा यस्तो परिणामपछि नेताहरू केही समय मौन बस्छन्, आत्मसमीक्षा गर्छन्, जनमतको सन्देश बुझ्ने प्रयास गर्छन् तर यहाँ कथा अलि फरक मोडमा पुग्यो। मन्त्री बन्ने सपना तत्काल रोकियो तर महामन्त्री बन्ने ढोका खुल्यो । चुनाव हारेर पनि पार्टीको शक्तिशाली पदमा उक्लिन सक्नु वास्तवमै नेपाली राजनीतिको अद्भुत योग्यता हो—जहाँ मतपेटिकाले अस्वीकार गरे पनि पार्टी संरचनाले स्वागत गरिरहन्छ ।
    बालेन शाहले चुनावअघि भनेका थिए
    “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”
    सायद त्यो माया यति झिक्कै भयो कि जनताले मत नदिए पनि पदले साथ छोडेन । चुनावी हारलाई संगठनात्मक पदले मलम लगाइदियो । जनता सोचिरहे : हामीले अस्वीकार ग¥यौं, तर पार्टीले किन स्वीकार ग¥यो ?
    यहीँबाट प्रश्न उठ्छ—पुरानाले यस्तो गरे भन्दै नयाँ राजनीतिले आफूलाई फरक सावित गर्न खोजेको थियो तर बाटो फेरिएको हो कि केवल पोस्टर ? पहिले पनि चुनाव हार्नेहरू समानुपातिक, सल्लाहकार, राजदूत वा पार्टी पदाधिकारी बन्थे। अहिले नाम फरक छ, शैली उस्तै देखिन थालेको छ ।
    नयाँ राजनीति भनेको केवल नयाँ अनुहार होइन, नयाँ उत्तरदायित्व पनि हो । जनमतको सम्मान गर्ने संस्कार हो। हारलाई पनि सन्देशका रूपमा स्वीकार गर्ने इमानदारी हो। यदि चुनाव हार्ने बित्तिकै अर्को शक्तिशाली पद सुरक्षित हुन्छ भने जनताको मतको नैतिक मूल्य कहाँ रहन्छ ?
    जनताले प्रश्न गर्न थालेका छन् ।
    “पुरानाले अवसरवाद गरे भनेर गाली गर्नेहरू, आज आफूले रोजेको बाटो कुन हो?”
    “हामीले परिवर्तन रोजेका हौँ कि पात्र परिवर्तन मात्र?”
    राजनीतिमा हार्नु अपराध होइन, तर हारलाई पनि जितको अर्को ढोका बनाइदिनु नै व्यंग्यको सबैभन्दा गहिरो बिन्दु हो ।
    अब जनताले भाषण होइन, व्यवहार हेर्छन्। नारा होइन, निर्णय तौलिन्छ किनकि देशलाई नयाँ अनुहारभन्दा बढी नयाँ चरित्र चाहिएको छ ।
    (लेखक नेपाली काँग्रेसका युवा नेता हुन् )