आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल चैत्र ७ गतेको बार, तिथि, नक्षत्र, योग र करणबारे जानकारी दिइएको छ ।
मेषदेखि मीन राशिसम्मका व्यक्तिका लागि राशिफल प्रस्तुत गरिएको छ, जसमा विभिन्न अवसर र चुनौतीबारे उल्लेख छ ।
शुभ कार्यका लागि लाभबेला र अमृत बेलाको समय उपयुक्त हुने र राहुकालमा शुभ कार्य नगर्न सुझाव दिइएको छ ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल चैत्र ७ गते । शनिबार । इस्वी सन् २०२६ मार्च २१ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र शुक्लपक्ष । तिथि–तृतीया, ५० घडी १९ पला, रातको २ बजेर १७ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–अश्विनी, ५२ घडी ६ पला, रातको ३ बजेर ० मिनेट उप्रान्त भरुणी । योग–ऐन्द्र, ३७ घडी ४५ पला, बेलुकी ९ बजेर १५ मिनेट उप्रान्त वैधृती । करण–तैतिल, दिउँसो ३ बजेर १७ मिनेट उप्रान्त गर, रातको २ बजेर १७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–मेष ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरू पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने व्यापारमा लगानी बढाउँदा भनेजस्तो आम्दानी हुनेछ । पढाइ लेखाइ तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहनेछ । राजनीति तथा सामाजिक काममा जनताको समर्थन पाइनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउन निकै समय खट्नु पर्नेछ । पढाइ लेखाइमा अलि बढी मेहनतको खाँचो पर्ने देखिन्छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु नै राम्रो रहेको छ । खानपान तथा मौसमको ख्याल गर्नुहोला । तर पनि विदेशी लगानीबाट सञ्चालित संस्थाबाट भने मनग्गे मुनाफा कमाउन सकिनेछ । राजनीति तथा सामाजिक काममा जनताको साथ तथा समर्थन पाइनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मायालुका साथ दिनभर समय व्यतीत गर्न पाउँदा मन हर्षित हुनेछ । पैतृक सम्पत्तिको प्रयोग तथा परिचालन गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरूको सहयोगमा सवारी साधन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापारमा गरिने लगानी फस्टाएर जाने हुनाले मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिए पनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
भाग्यले साथ दिने हुनाले सानो लगानी तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । खोजीमूलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित विषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कामहरू समयमा नसकिने तथा अरूबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरूभन्दा पछि परिनेछ । प्रेम प्रसङ्ग टाँडै रहनुहोला प्रिय पात्रसँग मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । विधि विधान तथा कानुन संवत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । इष्टमित्र तथा सहयोगीले साथ दिने हुँदा दैनिकी सहज रूपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगति हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरूलाई सल्टाउने समय रहेको छ । शत्रुले दुःख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिन्द्विहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
लामो समयदेखि थाती रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । बिलासी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अध्ययन अलि बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सबैको सहयोग पाइने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनै पनि पेसा व्यवसाय फस्टाएर जानेछ । समय अनुसार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।

