“दरबार हत्याकाण्डको २५ वर्षः इतिहासको सबैभन्दा रहस्यमय रात, अझै अनुत्तरित छन् अनेक प्रश्न“
२०८३ जेष्ठ १९
650
Shares
विश्व प्रकाश शर्मा
आज जेठ १९ गते नेपालको इतिहासमा एउटा यस्तो कालो अध्यायका रूपमा स्मरण गरिन्छ, जसले केवल राजपरिवारलाई मात्र होइन, समग्र राष्ट्रको राजनीतिक भविष्यलाई समेत गहिरो रूपमा प्रभावित गर्यो । वि.सं. २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारभित्र भएको राजदरबार हत्याकाण्डको आज २५ वर्ष पूरा भएको छ ।
२५ वर्षअघि आजकै दिन तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, राजकुमार निराजन, राजकुमारी श्रुति लगायत राजपरिवारका १० सदस्यको दरबारभित्रै गोली हानी हत्या गरिएको थियो । घटनापछि सार्वजनिक गरिएको आधिकारिक छानबिन प्रतिवेदनले तत्कालीन युवराज दीपेन्द्र शाहलाई घटनाको जिम्मेवार ठहर गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका दीपेन्द्र घटनापछि कोमामै राजा घोषित भए पनि केही दिनपछि उनको मृत्यु भएको थियो । त्यसपछि तत्कालीन राजपरिवारका सदस्य ज्ञानेन्द्र शाह नेपालको राजा बने ।
दरबार हत्याकाण्ड नेपालको आधुनिक इतिहासकै सबैभन्दा ठूलो र संवेदनशील घटनामध्ये एक मानिन्छ तर घटना भएको पच्चीस वर्ष बितिसक्दा पनि त्यस रातका धेरै पक्षबारे बहस र जिज्ञासा समाप्त भएका छैनन्। आधिकारिक प्रतिवेदन राज्यद्वारा मान्यता प्राप्त दस्तावेज भए पनि घटनालाई लिएर विभिन्न कोणबाट प्रश्न उठ्ने क्रम आजसम्म रोकिएको छैन ।
राजनीतिक विश्लेषकहरूका अनुसार दरबार हत्याकाण्डले नेपालको शक्ति संरचनामा गम्भीर परिवर्तन ल्याएको थियो । राजा वीरेन्द्रको निधनपछि राजसंस्थाप्रतिको जनविश्वास क्रमशः कमजोर बन्दै गयो । त्यसपछिका राजनीतिक घटनाक्रम, द्वन्द्व व्यवस्थापन, जनआन्दोलन र सत्ता संघर्षका शृंखलाबीच अन्ततः २०६५ सालमा संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको अन्त्य गरेको थियो ।
राजा वीरेन्द्रको शासनकाललाई तुलनात्मक रूपमा स्थिर र जनमुखी मान्नेहरूको संख्या अझै ठूलो छ । त्यसैले दरबार हत्याकाण्डलाई धेरैले केवल एउटा पारिवारिक दुर्घटना नभई नेपालको राजनीतिक दिशालाई नै बदलिदिएको ऐतिहासिक मोडका रूपमा हेर्ने गरेका छन् ।
आज घटना भएको एक चौथाइ शताब्दी पूरा हुँदा पनि नारायणहिटीको त्यो रात नेपाली जनमानसमा रहस्य, पीडा र जिज्ञासाको विषय बनेको छ । समय बित्दै जाँदा घाउ पुरानो भएको छ तर त्यस रातसँग जोडिएका प्रश्नहरू अझै इतिहासको अँध्यारो कुनामा उत्तर खोजिरहेका छन् । नेपालको राजनीतिक इतिहासलाई ’हत्याकाण्डअघि’ र ’हत्याकाण्डपछि’ भनेर छुट्याउन सकिने अवस्था सिर्जना गर्ने यो घटना आज पनि राष्ट्रको सामूहिक स्मृतिमा सबैभन्दा दुःखद, संवेदनशील र रहस्यमय अध्यायका रूपमा जीवित छ । हार्दिक श्रद्धासुमन (लेखक नेपाली कांग्रेस युवा नेता तथा राजनीतिक विश्लेषक हुन्)