काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको सौहार्दपूर्ण निमन्त्रणामा आज भारत प्रस्थान गर्ने भएका छन् ।
नेपाल र भारतबिच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदानप्रदानको सिलसिला अन्तर्गत हुन लागेको यस भ्रमणले दुई देशबिचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक गरेको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी डा.जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने छन् । सो अवसरमा दुई देशका विदेशमन्त्रीबिच नेपाल र भारतको आपसी हितका विविध विषयमा गहन छलफल हुने मन्त्रालयले जनाएको छ ।
विशेष गरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्रमा सहकार्य तथा दुई देशका जनताबीचको आपसी सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा केन्द्रित रहेर दुई पक्षबिच वार्ता हुने विज्ञप्तिमा उल्लेख छ । नेपाल र भारतबिचको आपसी सहयोग र समझदारीलाई नयाँ उचाइमा पु¥याउन यो भ्रमण महत्त्वपूर्ण कडी हुने मन्त्रालयको ठहर छ ।
औपचारिक भ्रमणका सबै कार्यक्रमहरू पूरा गरी परराष्ट्रमन्त्री खनाल आउँदो जेठ २४ गते काठमाडौँ फर्कने तालिका रहेको छ ।






