काठमाडौं : इजिप्टको एक अदालतले बहुचर्चित टेलिभिजन प्रस्तोता सारा खलिफासहित ११ जनालाई लागुऔषध तस्करी तथा उत्पादनको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ ।
सरकारी समाचार संस्था अल–अहरामका अनुसार उनीहरू लागुऔषध उत्पादनका लागि आवश्यक कच्चा पदार्थ अवैध रूपमा आयात गरी बिक्री–वितरण गर्ने अन्तर्राष्ट्रिय आपराधिक गिरोहमा संलग्न रहेको ठहर भएको हो । विशेष कारबाहीका क्रममा प्रहरीले ७५० किलोग्रामभन्दा बढी लागुऔषध, कच्चा पदार्थ तथा अवैध हातहतियार र गोलाबारुद बरामद गरेको थियो ।
अदालतले ३९ वर्षीया प्रस्तोता खलिफासहित ११ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । सोही मुद्दामा संलग्न अन्य ९ जनालाई जन्मकैदको फैसला र ७ जनालाई सफाइ दिइएको छ ।
इजिप्टको कानुनी प्रक्रियाअनुसार गत महिना सुनाइएको प्रारम्भिक फैसलालाई त्यहाँका मुख्य धार्मिक अधिकारी ’ग्रान्ड मुफ्ती’को औपचारिक स्वीकृति र रायपछि मात्र अन्तिम पुष्टि गरिएको हो ।
अन्तर्राष्ट्रिय तथा अपराध अनुसन्धानमा आधारित चर्चित टेलिभिजन कार्यक्रम ’मिशन इम्पसिबल’की प्रस्तोता खलिफाले भने आफूमाथि लगाइएका सबै अभियोग अस्वीकार गरेकी छन् । लागुऔषध नियन्त्रण कार्यालयमा तस्बिर खिच्ने क्रममा मात्र आफूले पहिलोपटक सो लागुऔषध देखेको दाबी गर्दै उनका वकिलले फैसलाविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन (अपील) गर्ने जनाएका छन् ।
मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलका अनुसार इजिप्टमा मृत्युदण्डको सजाय व्यापक रूपमा प्रयोग हुने गरेको छ । प्रत्यक्ष हत्या बाहेकका लागुऔषधसम्बन्धी कसुरमा पनि मृत्युदण्ड दिइने इजिप्टको यो कदमको अन्तर्राष्ट्रियस्तरमा निरन्तर आलोचना हुँदै आएको छ ।

