काठमाडौं : जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रलगायत देशका विभिन्न भू–भागमा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागका मौसमविद् बिनु महर्जनका अनुसार बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू–भागमा आज दिउँसो भारी वर्षा र अन्य प्रभावित क्षेत्रहरूमा मध्यम वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ । जसका कारण देशभर मौसम बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार पछिल्लो छ घण्टामा सबैभन्दा धेरै झापाको अनारमनी विर्तास्थित मौसम मापन केन्द्रमा ३४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्नेछ । दिउँसो लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावनासमेत रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।






