काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीपछि अझै चार हजार २१६ जना सम्पर्कविहीन रहेका छन् ।
बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना रहेका छन् । यसैगरी, भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाका करिब ८६५ जना सम्पर्कविहीन छन् ।
प्राधिकरणका अनुसार नुवाकोटका एक हजार ५५८, विदेशी नागरिक ५८३ तथा पर्यटकसँग गएका १६४ जना नेपाली पनि सम्पर्कविहीन छन् । जलविद्युत् आयोजनामा कार्यरत करिब ९००, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टिइन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह तथा मातहतका कर्मचारी ३२ र निजी विद्यालयका एक शिक्षक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । खोज तथा उद्धारमा नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार २८७ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ जना सुरक्षाकर्मी खटिएका छन् ।






