काठमाडौं : भोटेकोसी क्षेत्रमा आएको बाढीपछि प्रभावित ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र पुग्ने उद्धार कार्यमा महत्वपूर्ण प्रगति भएको छ ।
सुरुङको मुख अर्थात् पोर्टल क्षेत्रमा रहेका दुई दर्जनभन्दा बढी ठूला ढुंगा विस्फोट गराएर हटाइएको छ । पाँच दिनमा ठूलो मात्रामा लेदो, बालुवा, ढुंगा तथा बाढीले बगाएर ल्याएका संरचनाका अवशेष हटाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी दिँदै १६० मिटर लामो केबल डक्ट सुरुङको प्रवेशद्वारको निकास क्षेत्रमा रहेका दुई दर्जनभन्दा बढी ठूला ढुंगा हटाइसकिएको बताएका छन् ।
उनका अनुसार भदौ १३ गतेदेखि नियमित रूपमा दुईवटा एक्साभेटर परिचालन गरेर पाँच दिनसम्म निरन्तर काम गरिएको छ । यस अवधिमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा घरको आकारसम्मका ठूला ढुंगा हटाइएको छ ।
ठूला ढुंगा हटाउन आवश्यकताअनुसार ब्रेकरको प्रयोग गर्नुका साथै विस्फोटक पदार्थ प्रयोग गरेर ढुंगा फुटाउने काम भइरहेको न्यौपानेले बताएका छन् । उद्धार तथा अवरोध हटाउने काम २४सै घण्टा सञ्चालन भइरहेको छ ।






