August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

बाढीपीडितको लागी चन्द्रपुर नगरपालिका वडा नम्बर ९ को एक लाख सहयोग

२०८३ भाद्र १५

55

रौतहट : चन्द्रपुर नगरपालिका वडा नम्बर–९ डुमरियाले हरितालिका तीजका लागि छुट्याइएको बजेट बाढीपीडितको राहतका लागि प्रयोग गर्ने निर्णय गरेको छ ।
वडा कार्यालयले आइतबार जारी गरेको सूचनामा यस वर्ष हरितालिका तीज पर्वका लागि स्थानीय पर्व प्रवद्र्धन कार्यक्रमअन्तर्गत विनियोजन गरिएको १ लाख १ हजार रुपैयाँ खर्च नगरी ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्न चन्द्रपुर नगरपालिकाको कार्यालयलाई सिफारिस गरिएको जनाएको छ ।
गत साउन १९ गते आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएकाले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्नु सबैको मानवीय दायित्व भएको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि तीज पर्व मनाउन बजेट विनियोजन गरिएको भए पनि विपद्को अवस्थालाई मध्यनजर गर्दै उक्त रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
वडा अध्यक्ष नवराज देवकोटाद्वारा जारी सूचनामा यस वर्षको तीजमा कुनै तडकभडक नगरी आफ्ना नजिकका मन्दिर वा घरमै उपस्थित भएर परम्परागत तथा सांस्कृतिक गरिमा जोगाउँदै पर्व मनाउन वडावासीलाई आग्रह गरिएको छ ।
वडा कार्यालयले आफ्नो निर्णयमा वडावासीको सकारात्मक सहयोग र एक्यबद्धता रहने विश्वाससमेत व्यक्त गरेको छ । चन्द्रपुर नगरपालिकाको वेबसाइटमा पनि वडा नम्बर ९ लगायत विभिन्न वडामा बाढीपीडितलाई राहत वितरणसम्बन्धी विवरण प्रकाशित गरिएको छ ।