August 30, 2026, Sunday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

देशभर साधारणतया मौसम बदली,केही स्थानमा भारी वर्षाको सम्भावना

२०८३ भाद्र १४

215

काठमाडौं : मनसुनी वायुको सक्रियताका कारण आइतबार देशभर साधारणतया बदली रही केही स्थानमा भारी वर्षासम्मको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भूभागमा मध्यम वर्षा र हिमपात तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको छ । बागमती प्रदेशका केही, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । देशको हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा कर्णाली प्रदेशको पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक\दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आइतबार राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई तथा बागमती प्रदेशको पहाडी भूभागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।