August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

सुनकोशी नदीमा पानीको बहाव बढ्यो,उच्च सतर्कता अपनाउन आग्रह

२०८३ भाद्र १४

110

सिन्धुली : सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ७ः०२ बजेको मापनमा जलसतहले सतर्कताको सीमा नाघेको हो । अविरल वर्षाका कारण नदीको जलसतह बढ्ने क्रम जारी रहेकाले महाशाखाले विशेष बुलेटिन जारी गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
पूर्वानुमान महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ६ः५० बजे खुर्कोट जलमापन केन्द्रमा नदीको सतह ७.६९ मिटर पुगेको छ । उक्त केन्द्रमा ७.५ मिटरलाई सतर्कता तह मानिन्छ भने ८.६ मिटरलाई खतराको तह मानिन्छ ।
सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गरेसँगै सिन्धुली र रामेछापका नदी तटीय होचा भागहरूमा डुबान र कटानको जोखिम बढेको छ । महाशाखाले नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र आवश्यक पूर्वतयारी अपनाउन आग्रह गरेको छ ।