काठमाडौँ : बाढी पूर्वानुमान महाशाखाले मंगलबार जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल नै रहेको छ ।
मुख्य नदीहरूमा बहाव नियन्त्रणमै देखिए पनि साना नदीहरूमा भने आकस्मिक बाढीको जोखिम औँल्याइएको हो।
आज ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, रसुवा, तनहुँ, लमजुङ, कास्की, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ । ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना व्यक्त गरिएको छ ।
यसैगरी, भोलि र पर्सि गण्डकी तथा लुम्बिनी प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ ।

