काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर पक्षद्वारा आयोजित राष्ट्रिय सम्मेलनले पार्टीको नीतिगत र सांगठनिक सुदृढीकरणका लागि प्रस्तुत पाँच वटै प्रस्ताव आइतबार परिमार्जनसहित पारित गरेको छ ।
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा शुक्रबारदेखि जारी भेलालाई शनिबार ’सम्मेलन’मा रूपान्तरण गरी उक्त प्रस्तावहरू अनुमोदन गरियो ।
सम्मेलनमा पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक, पूर्व कोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक र नेता एनपी साउदले समसामयिक नीतिसम्बन्धी प्रस्ताव पेस गरेका थिए । त्यसैगरी, डा. प्रकाशशरण महतले नेपालको आर्थिक नीति र नेता रमेश लेखकले कानुन तथा विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
शनिबार प्रस्तुत भएका प्रस्तावहरूमाथि सातै प्रदेशका प्रतिनिधिहरूलाई समूहमा विभाजन गरी छलफल गरिएको थियो । प्रतिनिधिहरूले उठाएका जिज्ञासा र दिएका सुझावका आधारमा सम्बन्धित प्रस्तावकहरूले जवाफ दिएपछि बन्दसत्रले प्रस्तावहरूलाई अन्तिम रूप दिँदै पारित गर्यो । पार्टी सदस्यतालाई डिजिटल प्रविधिमार्फत स्वचालित बनाउने, सदस्यता नवीकरण र खारेजीको व्यवस्थालाई पारदर्शी बनाउने तथा वडा तहदेखि नै केन्द्रसम्म अभिलेखीकरण गर्ने प्रावधान थप गरेर प्रस्ताव पारित गरियो । यस्तै, ३० वर्षमुनिका युवालाई पार्टीका सबै तहमा प्रत्यक्ष निर्वाचित वा मनोनीत हुने सुनिश्चितता गर्ने, क्षेत्रीय प्रतिनिधिको चयन भूगोल र जनसंख्याका आधारमा गर्ने र समावेशी कोटामा एक पटक मात्र मनोनयन हुन पाउने जस्ता योजनाहरू प्रस्तावमा समेटियो ।
सांगठनिक प्रस्तावमा भ्रष्टाचारप्रति शून्य सहनशीलता, सार्वजनिक स्रोतको पारदर्शी उपयोग र नागरिक संवादलाई प्राथमिकता दिने विषय समेटिएका छन् । सम्मेलनमा पूर्व सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरूको सहभागिता रहेको थियो । गत पुसमा भएको विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै सुरु भएको भेला शनिबार घोषणापत्र जारी गरेर सम्मेलनको हैसियतमा समापन गरिँदै छ ।

