काठमाडौँ : सरकारले कैदीबन्दीको पालनपोषणमा मात्रै वार्षिक ३ अर्ब ५१ करोड ३९ लाख १५ हजार रुपैयाँ खर्च गर्ने गरेको छ ।
हाल नेपालका कारागारमा २६ हजार २९ जना कैदीबन्दी रहेका छन् । एकजना कैदीबन्दीको पालनपोषणमा वार्षिक १ लाख ३५ हजार रुपैयाँ खर्च हुने गरेको छ ।
नेपालमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका कैदीबन्दी रहेका छन् । १८ देखि ५९ वर्षको ठूलो जनशक्ति उत्पादनशील उमेरमा रहे पनि कारागारमा उनीहरूको क्षमता र श्रमको उपयोग गर्नु आवश्यक छ ।
२६ हजारभन्दा बढी उत्पादनशील उमेरका नागरिक कारागारमा रहनु राज्यका लागि राम्रो संकेत होइन । त्यसैले कैदीबन्दीको सीप, श्रम र क्षमतालाई उत्पादनशील कार्यमा जोड्न आवश्यक देखिन्छ ।
शुक्रवार कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कैदीबन्दीबारे उक्त जानकारी दिएकी थिइन् । मन्त्री गौतमले कारागारलाई दण्ड दिने थलोको रूपमा नभई सुधारगृहको रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् । मन्त्री गौतमले कारागारको विद्यमान अवस्था र कानुनी सुधारको आवश्यकता औंल्याइन् ।
आन्दोलनका क्रममा लागेका मुद्दाहरूको सन्दर्भमा मन्त्री गौतमले अध्ययन समिति गठन भएको र त्यसले सूक्ष्म अध्ययन गरिरहेको जानकारी दिइन् ।

