August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्रको सेवा सञ्चालन

२०८३ श्रावण २९

555

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रनिगाहपुर अस्पतालको भवनबाट तिलगंगा सामुदायिक आँखा केन्द्रको सेवा सञ्चालन भएको छ ।
आज शुक्रवारदेखि चन्द्रपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा चन्द्रनिगाहपुर अस्पतालको भवनबाट सेवा संचालन भएको हो । तिलगंगा सामुदायिक आँखा केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय कुमार काफ्ले र तिलगङ्गा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख काफ्लेले चन्द्रपुर र आसपासका नागरिकलाई आँखासम्बन्धी स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न सामुदायिक आँखा केन्द्र महत्वपूर्ण हुने बताए । उनले स्थानीय तह र विशेषज्ञ स्वास्थ्य संस्थाबीचको सहकार्यबाट नागरिकले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण भएको उल्लेख गर्दै केन्द्रको प्रभावकारी सञ्चालनमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
तिलगङ्गा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारीले आँखाको समस्या समयमै पहिचान र उपचार गर्न सके धेरैजसो अवस्थामा दृष्टि जोगाउन सकिने बताउँदै सामुदायिक तहसम्म आँखा सेवा विस्तार गर्ने उद्देश्यअनुसार चन्द्रपुरमा केन्द्र सञ्चालन गरिएको जानकारी दिए ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका–५ का वडाध्यक्ष निलहरी कोइरालाले नगरपालिकाका नागरिकका लागि सामुदायिक आँखा केन्द्र आवश्यक सेवा भएको बताउँदै केन्द्रलाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । यस्तै नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजयकुमार कार्कीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा स्थानीय तह र विशेषज्ञ संस्थाबीचको सहकार्य सकारात्मक रहेको बताउँदै केन्द्रबाट नागरिकले गुणस्तरीय सेवा पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै, चन्द्रनिगाहपुर अस्पतालका प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तवले अस्पताल परिसरमै सामुदायिक आँखा केन्द्र सञ्चालनमा आउनु स्थानीय स्वास्थ्य सेवाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले अस्पताल र आँखा केन्द्रबीच आवश्यक समन्वय गरी बिरामीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण बनाइने बताएका थिए ।
कार्यक्रममा तिलगङ्गा आँखा प्रतिष्ठानका मानव संसाधन प्रबन्धक मुकेशकुमार सिंह, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख विनोद पोखरेल, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापा, चन्द्रपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत श्रीवास्तव लगायत स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।