काठमाण्डौं : नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै ६ महिनापछि आज स्वदेश फर्किंदैछन् । उनी बिहीबार मध्याह्न साढे १२ बजे थाई एयरको उडानमार्फत काठमाडौं आइपुग्ने कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिएका छन् ।
देउवालाई कांग्रेसको संस्थापनइतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा तथा सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ ।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएपछि देउवा गत १३ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए । त्यसपछि थप उपचारका लागि ७ चैत २०८२ मा हङकङ पुगेका थिए ।
स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनेछन् । तीन दिनसम्म चल्ने भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने आयोजकको अनुमान छ ।






