काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन् ।
मन्त्री मेहताले आफ्नो जिम्मेवारीप्रति गम्भीरता नदेखाएको भन्दै सभापति लामिछानेले असन्तुष्टि जनाएका हुन् । प्रधानमन्त्री सचिवालयका अनुसार सभापति लामिछानेले मन्त्री महेतालाई सचेत गराउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सिफारिस नै गरेका छन् ।
लामिछानेको सिफारिसमा प्रधानमन्त्री बालेनले मेहतालाई सचेत गराइसकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । स्वास्थ्य बीमा बोर्डमा श्रममन्त्री दीपकुमार साहकी पत्नीलाई निष्क्रिय भइसकेको सदस्य पद सक्रिय बनाउने प्रयास गरेपछि सभापति लामिछानेले असन्तुष्टि जनाएको बताइएको छ ।
सोही विवादमा मुछिएपछि लामिछानेले श्रममन्त्री साहलाई फिर्ता बोलाउन सिफारिस नै गरेका थिए । सभापति लामिछानेको सिफारिसमा प्रधानमन्त्री बालेनले श्रममन्त्री साहलाई पदमुक्त गरेका छन् ।

