सुर्खेत : सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको शव २७ दिनपछि परिवारले बुझेको छ ।
१ घण्टाअघि मात्र परिवारले शव बुझेको डिएसपी मोहन बुढथापाले जानकारी दिए । इनिशाको शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थियो । बिहीबार भेरी पुल नजिकको सम्झिघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
विकको बलात्कार र हत्या प्रकरणमा चारै जना अभियुक्तलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन जिल्ला अदालतले मंगलबार आदेश दिएसँगै परिवारले शव लैजान मानेको हो ।
ट्युसन पढ्न बिहानै निस्केकी इनिशा फागुन २३ गते बिहान वीरेन्द्रनगर नगरपालिका–१ स्थित जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।
पोस्टमर्टम रिपोर्टले बलात्कारपछि यौनांगमा भित्री चोटपटक लागेको र त्यसका कारण अत्यधिक रक्तस्राव हुँदा इनिशाको मृत्यु भएको उल्लेख गरेको थियो ।
यस घटनामा इनिशाका अभिभावकले चारै जनाविरूद्ध सामूहिक बलात्कार गरी हत्या गरेको भन्दै किटानी जाहेरी दिएका थिए ।
सरकारी वकिल कार्यालयले पनि सोही अनुसार सामूहिक बलात्कारका कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको मागदाबीसहित अभियोगपत्र दर्ता गरेको थियो । इनिशामाथि बलात्कार र हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी भनिएका किशोरसहित चारै जना १८ वर्षभन्दा कम उमेरका छन् । उनीहरू सबै एकै विद्यालयमा पढ्छन् ।
यो घटनाबारे चैत ११ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई पेस गरेको थियो । जसमा इनिशा विकमाथि भएको बलात्कार र हत्या घटना सामूहिक नभएको राय पेस गरिएको थियो । उक्त राय अनुसार इनिशा विकको बलात्कार र हत्या घटनामा एक जनाको मात्रै संलग्नता रहेको प्रहरीको निष्कर्ष थियो ।
प्रहरीले बुझाएको प्रतिवेदनमा मुख्य अभियुक्तका प्रेमी भनिएका किशोरविरूद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा जन्मकैदको मागदाबी गरिएको थियो । (सेतोपाटीबाट)

