काठमाडौं — नेपाली कांग्रेसभित्र गम्भीर आन्तरिक संकट चुलिएको आरोप लगाउँदै नेता मान बहादुर नेपालीले पार्टी परित्याग गर्ने घोषणा गरेका छन्। उनले पार्टी नेतृत्वमाथि प्रत्यक्ष रूपमा षड्यन्त्र, अराजकता र गैरवैधानिक गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्।
नेपालीले पार्टि नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाउँदै समानुपातिक उम्मेदवार चयन प्रक्रियामा गम्भीर प्रश्न उठाएका छन्। उनले दलित कोटामा गरिएको निर्णयलाई अन्यायपूर्ण र विवादास्पद भन्दै नेतृत्वको नियतमाथि नै शंका व्यक्त गरेका छन्।
उनले तत्कालीन महामन्त्री गगन कुमार थापालाई ‘पार्टी कब्जा गर्ने खेलको मुख्य नाइके’को संज्ञा दिँदै नेतृत्वभित्रैबाट लोकतन्त्रविरुद्धको षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
नेपालीका अनुसार, “पार्टीभित्र संवाद शून्य छ, स्वघोषित नेतृत्व हावी छ र अन्तरघातको नाममा डर–त्रासको राजनीति चलाइएको छ।” उनले शीर्ष नेताहरूबीच नै आपसी अविश्वास र अपमानको वातावरण सिर्जना गरिएको आरोप लगाउँदै सभापति शेर बहादुर देउवा देखि वरिष्ठ नेता शेखर कोईराला सम्मलाई अपमान गरिएको दाबी गरेका छन्।
रुकुम पश्चिमका नेता नेपालीले आफूविरुद्ध लगाइएको अन्तरघातको आरोपलाई ‘निराधार र राजनीतिक पूर्वाग्रह’ भन्दै कडा चुनौती दिएका छन्। “यदि २०४८ सालयता कुनै पनि निर्वाचनमा मैले पार्टीविरुद्ध काम गरेको प्रमाणित भयो भने सानेपामा आत्मबलिदान दिन तयार छु,” उनले भनेका छन्।
उनले पार्टीभित्र दलित समुदायमाथि विभेद भएको गम्भीर आरोप लगाउँदै अवसर वितरणमा गुट, नातावाद र पैसाको प्रभाव हावी भएको बताएका छन्। साथै, उनले कार्यकर्तामाथि गरिएको व्यवहारप्रति आक्रोश व्यक्त गर्दै “गाउँबाट खसी बेचेर आउने कार्यकर्तालाई गरिएको अपमान असह्य छ” भनेका छन्।
नेपालीले नेतृत्वको शैलीलाई ‘दम्भ, अहंकार र वास्तविकताबाट टाढा’ भएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले पार्टी र देश दुवैलाई कमजोर बनाउने चेतावनी दिएका छन्।
अन्ततः, उनले वर्तमान अवस्था, आफ्नो स्वास्थ्य, विवेक र सर्वोच्च अदालतको फैसलालाई आधार मान्दै नेपाली कांग्रेस परित्याग गर्ने औपचारिक घोषणा गरेका छन्। साथै, उनले पार्टी एकता कायम गर्न असफल भएको नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने बताएका छन्।

