काठमाडौं : नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । अन्य प्रदेशका उच्च भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाको भनाई छ । तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ । देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
त्यसैगरी आज राति तराई भागका केही स्थानमा तुँवालो लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्नेछ बाँकी भूभागमा मौसम सफा रहनेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसममा हुने परिवर्तनका कारण प्रभावित क्षेत्रका बासिन्दा तथा यातायात सञ्चालनमा सावधानी अपनाउन अनुरोध गरिएको छ ।






