काठमाडौं : निपाह भाइरसको जोखिम बढेको भन्दै विज्ञले सतर्कता अपनाउन आग्रह गरेका छन् । पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग रहेको भन्दै चिकित्सकले यसबाट बच्न आग्रह गरेका छन् । भारतको पश्चिम बंगालमा निपाहको संक्रमण देखिएसँगै नेपालमा पनि यसको जोखिम उच्च भएको हो ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा यसको जोखिम उच्च रहेको बताए ।
उनले भने, “छिमेकी देशमा यसको संक्रमण उच्च छ । विभिन्न मार्गबाट नेपालमा पनि आउन सक्ने सम्भावना छ । तर अहिलेसम्म यसको पुष्टि भइसकेको छैन । जोखिम उच्च छ तर डराउनुपर्ने अवस्था भने छैन ।”
निपाहको संक्रमणले मष्तिष्क सुन्निने र मष्तिष्कमा असर भएका बिरामीको मृत्युसम्मको जोखिम रहने गरेको डा. पुनको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणलाई लिएर उच्च सावधानी अपनाएको जनाएको छ । मन्त्रालयका सूचना अधिकृत डा. भक्तबहादुर केसीले विभिन्न स्थल मार्गसँगै हवाई मार्गमा पनि निगरानी बढाइएको बताए ।
उनले भने, “हामीले स्क्रिनिङलाई तिब्र पारेका छौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थललगायत भारतको पश्चिम बंगालसँग जोडिएका स्थल नाका र अन्यमा पनि निगरानी बढाइएको छ । अहिलेसम्म केस देखिएको छैन ।”
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले निपाह स्क्रिनिङ सर्वसाधारणका लागि खुला नगरिएको बताइन् । उनले भनिन्, “हामीसँग स्क्रिनिङको क्षमता छ तर सर्वसाधारणका लागि खुल्ला गरिएको छैन । आइपरेको खण्डमा हामी परीक्षण गर्न सक्छौँ ।”
के हो निपाह भाइरस ?
निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो । फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा निपाह भाइरस पाइन्छ ।
यो कसरी सर्छ ?
निपाह भाइरस जनावरबाट जनावरमा, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । संक्रमित चमेरोबाट सुंगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ ।
संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, संक्रमित व्यीक्तको रगत, दिशा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा निपाह भाइरस सर्ने जोखिम रहने चिकित्सक बताउँछन् ।
यसको लक्षणहरू
ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, स्वासप्रश्वासमा कठिनाइ हुने, टनसिलाइटिस जस्ता निपाहका लक्षणहरू हुन् ।
यसको रोकथाम कसरी गर्न सकिन्छ ?
फलफूल खाँदा पखालेर मात्र खान चिकित्सकले सुझाएका छन् । तरकारी सकेसम्म पकाएर खाने, गाईवस्तुको गोठ, फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउन पनि चिकित्सकको सुझाव छ ।

