September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

आज तिन प्रदेशमा हल्का वर्षाको पूर्वानुमान

२०८२ कार्तिक १६

490

काठमाडौं : देशका केही स्थानमा आज (कात्तिक १६) वर्षाको पूर्वानुमान छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशमा हाल मुख्यतः पश्चिमी वायुको प्रभाव रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । त्यसकै प्रभावले उक्त क्षेत्रमा हल्का वर्षा हुने उनले बताए ।
उक्त क्षेत्रका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको उनले जानकारी दिए ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव सकिइसकेको उनले बताए । “मोन्थाको प्रभाव हिजै सकियो,” उनले बाह्रखरीसित भने, “अहिले पश्चिमी वायुकै प्रभाव हो ।”
अरबसागरमा बनेको न्यूनचापीय प्रणालीका कारण पनि नेपालमा वर्षा र हिमपात भएको थियो । त्यो प्रणाली समेत निकै कमजोर भइसकेको उनले जानकारी दिए ।
“त्यसको ठूलो प्रभाव छैन,” मौसमविद् झाले भने, “त्यो प्रणाली आफैँमा कमजोर भइसकेको छ । कतैकतै आद्र्रता भने आएको हुनसक्छ ।”