काठमाण्डौं : नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङ २०२७ मंसिर २३ गते तेह्रथुमको मेन्छ्यायोम गाउँपालिका–६मा जन्मिएका थिए । उनले जेन्डर स्टडिजमा स्नातकोत्तर, र कानुनमा स्नातक गरेका छन् ।
नेपाल प्रहरीको प्रहरी निरीक्षकमा २०५२ कात्तिक २७ मा उनले सेवामा प्रवेश गरेका थिए ।
खापुङले प्रहरी निरीक्षक हुँदा मोरङको इलाका प्रहरी कार्यालय बेलबारी लगायतमा कमाण्ड सम्हालेका थिए ।
उनी प्रहरी नायब उपरीक्षकमा २०६४ साउन १ गते प्रहरी वृत्त चापागाउँ, इलाका प्रहरी कार्यालय धरान, प्रहरी वृत्त दरबारमार्ग लगायतमा कमाण्ड सम्हालेका थिए । उनी प्रधानमन्त्रीको प्रमुख सुरक्षा अधिकृत समेत भएर कार्यरत भएका थिए ।
खापुङ २०७३ पुस १३ गते प्रहरी उपरीक्षकमा बढुवा भएका थिए । प्रहरी उपरीक्षक हुँदा उनी बागलुङ प्रहरी कार्यालय, कर्मचारी प्रशासन शाखा लगायतमा बसेका थिए । त्यस्तै २०७७ वैशाख १७ गते उनी प्रहरी वरिष्ठ उपरीक्षक भएका थिए ।
प्रहरी वरिष्ठ उपरीक्षक हुँदा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख भए । त्यस्तै नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेको समेत प्रमुख भएका थिए ।
त्यस्तै प्रहरी नायब महानिरीक्षकमा उनी २०८० वैशाख ६ गते पदोन्नति भएका थिए । त्यसपछि उनले कोशी प्रदेश प्रमुख र अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयमा समेत बसेर काम गरेका थिए ।
प्रहरी नायब महानिरीक्षक रहँदा नै उनको सिआइबीमा २०८१ मंसिर २७ गते सरूवा भएको थियो । त्यहाँ डिआइजीको रूपमा कार्यरत रहँदा उनी २०८२ वैशाख ४ गते एआइजीमा पदोन्नति भएका थिए ।
खापुङले इटाली, भियतनाम, चीन लगायतमा तालिम लिएका छन् । स्वदेश र विदेशमा गरी विविध १४ वटा विषयमा तालिम लिएका छन् ।
त्यस्तै उनी प्रबल जनसेवा श्रीसहित १७ पटक पुरस्कृत समेत भएका छन्।
उनले संयुक्त राष्ट्रसंघको शान्ति मिसनतर्फ दुई पटक हाइटीमा सेवा गरेका थिए । फर्म पुलिस युनिट र इन्डिभिड्युजल मिसनमा उनले सेवा गरेका थिए ।






