April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

भाजपाको चुनावी घोषणापत्र सार्वजनिक

२०८१ बैशाख २

1K

नयाँदिल्ली । लोकसभा निर्वाचन आउन पाँच दिन मात्र बाँकी रहँदा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले संकल्पपत्र नाम दिएर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रलाई उसले ‘भाजपाको संकल्प, मोदीको ग्यारेन्टी’ शीर्षक दिएको छ ।

नयाँदिल्लीस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, पार्टी अध्यक्ष जेपी नड्डा, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र अर्थमन्त्री निर्मला सिथारमणले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा विकसित भारत निर्माणका लागि समाजका चार स्तम्भ महिला युवा, गरीब र किसानको उत्थानमा जोड दिइएको छ ।

घोषणापत्रमा केन्द्र सरकारले गरीब परिवारलाई दिँदै आएको नि:शुल्क रासनको योजनालाई थप पाँच वर्षका लागि निरन्तरता दिने, तरकारी र दालको मूल्य स्थिर गर्ने, पीएम सूर्यघर योजनाअन्तर्गत निःशुल्क बिजुली उपलब्ध गराउने, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आयुष्मान योजनाअन्तर्गत पाँच लाख रुपैयाँसम्मको नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने र थप तीन करोड ग्रामीण महिलालाई लखपति दिदी बनाउनेलगायत प्रतिबद्धता व्यक्त गरिएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री मोदीले भाजपाले आफ्नो संकल्पपत्रका हरेक बुँदालाई ग्यारेन्टीका रूपमा लागु गर्ने प्रतिबद्धता जनाएका थिए । भाजपाको संकल्पपत्रमा केन्द्र र प्रदेशका निर्वाचन एकै दिन गर्ने गरी ‘एक राष्ट्र एक चुनाव’ को पहलका साथै समान नागरिक संहिता लागु गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

विपक्षी कांग्रेसले भने भाजपाको नीति नै मानिसलाई विश्वास लाग्ने गरी ठूलो स्वरमा झुट बोल्ने रहेको भन्दै घोषणापत्रको आलोचना गरेको छ । कंग्रेसले अप्रिल ५ मै न्यायपत्र नाम दिएर आफ्नो घोषणापत्र जारी गरिसकेको छ ।

आफ्नो घोषणापत्रमा कंग्रेसले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्यका लागि कानुनी प्रत्याभूति दिने, गरिब परिवारलाई बिनासर्त वार्षिक पाँच लाख रुपैयाँ दिने, सेनामा भर्नाको अग्निपथ योजना खारेज गरी पुरानै भर्ना प्रक्रिया लागु गर्नेलगायत वाचा गरेको छ ।