October 16, 2026, Friday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

आज नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

२०८३ आश्विन ३०

370

काठमाडौँ : हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा माता कात्यायनीको विधिपूर्वक पूजाअर्चना गरिँदै छ ।
आजको दिन कात्यायनी भगवतीको पूजाआराधना गर्दा रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई मानिस प्रगतिको पथमा अघि बढ्ने धार्मिक विश्वास छ ।
शास्त्रअनुसार कत ऋषिका पुत्र कात्यको गोत्रमा जन्मिएका विश्वप्रसिद्ध महर्षि कात्यायनले भगवती पराम्बालाई आफ्नी पुत्रीको रूपमा पाउन लामो समयसम्म कठिन तपस्या गरेका थिए। भगवतीले उनको प्रार्थना स्वीकार गरी पुत्रीका रूपमा जन्म लिएकाले यिनको नाम ‘कात्यायनी’ रहन गएको हो ।
अर्को पौराणिक प्रसंगअनुसार, ब्रह्माजीबाट कुनै पनि देवता, दैत्य वा पुरुषबाट मारिनु नपरोस् भनी केवल स्त्रीको हातबाट मृत्यु हुने वरदान पाएका महिषासुरले त्रिलोकमा आतङ्क मच्चाएका थिए । देवता, शिव र विष्णुसमेत पराजित भएपछि ब्रह्मा, विष्णु र महेश्वर तीनै जनाले आफ्नो तेजको अंश दिएर महिषासुरको वध गर्न देवीलाई उत्पन्न गरेका थिए । महर्षि कात्यायनले सर्वप्रथम यिनको पूजा गरेका कारण पनि यिनलाई कात्यायनी भनिएको हो । आश्विन कृष्ण चतुर्दशीका दिन प्रकट भएकी देवीले आश्विन शुक्ल सप्तमी, अष्टमी र नवमी गरी तीन दिन कात्यायन ऋषिद्वारा पूजा ग्रहण गरी दशमीको दिन महिषासुरको वध गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
अमोघ फलदायिनी मानिने कात्यायनी देवीलाई ब्रजमण्डलकी अधिष्ठात्री देवीका रूपमा पनि लिइन्छ । द्वापर युगमा ब्रजका गोपिनीहरूले भगवान् श्रीकृष्णलाई पतिका रूपमा पाउन यिनै कात्यायनी देवीको पूजा यमुना नदीको किनारमा गरेका थिए ।
स्वर्णसमान चम्किलो वर्ण भएकी यी देवी चतुर्भुज स्वरूपकी छिन् । यिनको दाहिनेतर्फका हातहरू अभय र वरमुद्रामा छन् भने देब्रे हातहरूमा तरबार र कमलको पुष्प सुशोभित छ । यिनको वाहन सिंह हो । नवरात्रको छैटौँ दिन साधकले आफूलाई पूर्ण रूपमा समर्पण गरी पूजा गर्दा माताको सहज दर्शन मिल्ने र धर्म, अर्थ, काम तथा मोक्ष गरी चार वटै फल प्राप्त हुने विश्वास गरिन्छ । यस दिन साँझपख बेलको फेदमा बसेर जागरण गर्नु थप फलदायी मानिन्छ ।
बडादसैँको अवसरमा काठमाडौँ उपत्यकाभित्रका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका प्रमुख शक्तिपीठ तथा दसैँघरहरूमा पूजाआराधना गर्ने भक्तजनहरूको उपस्थिति रहन्छ ।
पूजा सामग्री तथा विधि
पूजाका लागि देवीको प्रतिमा, रातो कपडा, रातो वा कमलको फूल, कलश, नरिवल, पञ्चपल्लव, शुद्ध जल, पञ्चामृत, अबिर, चन्दन, धूप–दीप र नैवेद्य आवश्यक पर्दछ ।
ब्रह्ममुहूर्तमा उठेर शुद्ध वस्त्र (विशेषगरी रातो) धारण गरी पूजा कोठा सफा गरेर दियो, कलश र गणेशको विधिपूर्वक पूजा गरिन्छ। त्यसपछि कात्यायनी मातालाई चन्दन, सिन्दूर, बेलपत्र, आभूषण, सुगन्धित द्रव्य, फलफूल र नैवेद्य अर्पण गरिन्छ। पूजाका क्रममा ‘ॐ देवी कात्यायन्यै नमः’ मन्त्रको जप, वन्दना श्लोक र देवी स्तोत्र पाठ गरी दीप तथा कपूर बालेर आरती गरिन्छ र अन्त्यमा प्रसाद ग्रहण गरिन्छ ।
मन्त्र
चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना ।
कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी ।।
या देवी सर्वभूतेषु माता कात्यायनी रुपेण संस्थिता
नमस्तस्यैनमस्तस्यैनमस्तस्यै नमोनमः ।।