October 14, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

उत्तरी गोरखाको पाँचहजार घरमा विद्युत,फोन र इन्टरनेट सेवा प्रभावित

२०८३ आश्विन २८

130

गोरखा : बूढीगण्डकी नदीमा आएको बाढीका कारण उत्तरी गोरखाका पाँच हजार घर विद्युतविहिन बनेका छन् ।
गत आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीले वडा नं ३ जगतमा रहेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना पूर्ण रूपमा बगाएपछि यो समस्या उत्पन्न भएको हो । बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले बताए। गुरुङका अनुसार चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन, सिर्दिबास रजगतमा विद्युत् अवरुद्ध भएको हो । जसका कारण ९७१ घरधुरी प्रभावित बनेको उनले जानकारी दिए ।
“बाढीले विद्युतको १२ पोल बगायो, एउटा टावर र तारहरू पनि कता पुर्यायो, पुर्यायो । पावर हाउस चाँही सुरक्षित छ,” उहाँले भन्नुभयो, “आइतबार बिहान ४ः०० बजे बाढी आएदेखि यो भेगमा बिजुली छैन ।”
विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए । उनका अनुसार विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ । निजी सङ्घसंस्थाहरू र स्थानीय नागरिकहरू पनि मर्कामा परेका छन् ।
“बाढीले पुल बगायो,बाटो बगायो, बिजुली पनि बगायो । अहिलेको डिजिटल युगमा बिजुली नहुँदा सूचना आदनप्रदानमा समस्या भएको छ । हिजो बिहान फोनसम्पर्क गरेकै कारण सयौँ मानिसहरूको ज्यान जोगिएको हो”, उनले भने ।
फिलिमको केही घरहरूमा जडान गरिएका सोलारमार्फत सबैजनाले मोबाइल चार्ज गर्ने र बाहिर फोन सम्पर्क गर्ने गरेका सापकोटाले बताए ।
हाल उत्तरी गोरखाको बाढी प्रभावित क्षेत्रमा एक गाउँबाट अर्को गाउँसम्म पुग्न सक्ने अवस्था समेत नरहेको चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङले बताइन् । “फिलिमबाट न तल जाने ठाउँ छ, न त माथि जाने । बाढीले पुल, बाटो सबै बगायो,” उनले भनिन् “झनै बिजुली पनि नहुँदा त यो ठाउँ अन्धकार बनेको छ । धन्न मानवीय क्षति भने भएको छैन ।”उत्तरी गोरखाको अधिकांश गाउँबस्तीमा बिजुली र इन्टरनेटको समस्या रहेको गुरुङको भनाइ छ ।
यसैगरी, नेपाल विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा बाढीले क्षति पुर्याएपछि धार्चे गाउँपालिकाका सातै वटा वडाका करिब चार हजार घरधुरी अन्धकारमा परेका छन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतका अनुसार बाढीले बिजुली, सञ्चार, बाटोघाटो र पुलहरू बगाउँदा धार्चे गाउँपालिका झनै ठूलो मर्कामा परेको छ ।
यस्तै, आरुघाट गाउँपालिका–५ को शान्तीबजार क्षेत्रका थप ५० घरधुरीमा पनि विद्युत् सेवा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए । उकेरा डटकमबाट