October 14, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

अमेरिकाले ग्रीनल्यान्डमा तेल, ग्यास र खनिजको विशाल अन्वेषण सुरु गर्ने

२०८३ आश्विन २८

190

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डमा तेल, ग्यास र खनिजको विशाल अन्वेषण सुरु हुने बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले डेनमार्कको स्वशासित क्षेत्र रहेको आर्कटिक टापु ग्रीनल्यान्डमा विश्वकै सबैभन्दा सजिलै निकाल्न सकिने तेलको ठूलो भण्डार रहेको दाबी गरेका छन् ।
“हाम्रो नयाँ र सुन्दर ग्रीनल्यान्डमा ठूलो मात्रामा तेल, ग्यास र खनिजको अन्वेषण सुरु हुने तयारी भइरहेको छ,” ट्रम्पले लेखेका छन् ।
विज्ञहरूलाई उद्धृत गर्दै उनले त्यहाँ सजिलै उपलब्ध हुने तेलको मात्रा विश्वका अधिकांश स्थानभन्दा धेरै रहेको दाबी पनि गरेका छन् । गत महिना ट्रम्पले डेनमार्क र ग्रीनल्यान्डका नेताहरूसँग सुरक्षा सम्झौता गरेका थिए, जसले ग्रीनल्यान्डमा अमेरिकी सैन्य भूमिकाको विस्तार गर्ने व्यवस्था गरेको छ ।
सम्झौताले दुई नयाँ सैन्य अड्डा स्थापना र ट्रम्पको प्रस्तावित ‘गोल्डेन डोम’ मिसाइल रक्षा प्रणाली कार्यान्वयनको बाटो खोलेको थियो ।

साथै, डेनमार्कको सार्वभौमसत्ता र ग्रीनल्यान्डका जनताको आत्मनिर्णयको अधिकारलाई पनि पुनः पुष्टि गरेको छ । यो सम्झौता ट्रम्पले ग्रीनल्यान्डलाई बलपूर्वक कब्जा नगर्ने स्पष्ट गरेपछि करिब दुई वर्षदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यले भएको थियो ।