नयाँदिल्ली : नेपालका गृहमन्त्री सुधन गुरुङले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन्। भारतको नयाँदिल्लीमा मंगलबार भएको द्विपक्षीय भेटमा नेपाल–भारतबीच साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य सुदृढ बनाउने विषयमा छलफल भएको छ।
गृहमन्त्री गुरुङ बङ्गालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन भारत पुगेका हुन्। गृह मन्त्रालयका अनुसार, गृहमन्त्रीका रूपमा उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो। भेटवार्ताका क्रममा दुवै देशबीच सुरक्षा चुनौतीको सामना गर्न आवश्यक समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।
भारतीय बजारमा नेपाली व्यवसायीले भोग्दै आएको समस्या उठाइयो
भारतीय गृहमन्त्री अमित शाहसँगको भेटमा गृहमन्त्री गुरुङले भारतीय बजारमा नेपाली उद्योगी तथा व्यवसायीले भोग्दै आएका प्राविधिक कठिनाइबारे पनि ध्यानाकर्षण गराएका छन्। विशेषगरी भारतीय मानक ब्युरो (बीआईएस) प्रमाणीकरणसम्बन्धी समस्याको समाधान गर्न उनले आग्रह गरेका थिए। गृह मन्त्रालयका अनुसार, नेपाली पक्षले उठाएको विषयमा भारतीय समकक्षीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।
बिमस्टेक बैठकमा क्षेत्रीय सुरक्षा प्रमुख एजेन्डा
अक्टोबर १३ मा नयाँदिल्लीमा आयोजित बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्यान्डका प्रतिनिधिहरू सहभागी भएका छन्।
बैठकमा लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतङ्कवादी गतिविधिमा वित्तीय लगानी, साइबर अपराध तथा विपद्जन्य जोखिमलगायतका अन्तरदेशीय सुरक्षा चुनौतीमा क्षेत्रीय सहकार्य बढाउने विषय समेटिएका छन्। नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा उद्धार र राहत कार्यमा क्षेत्रीय समन्वयलाई प्राथमिकतामा राखेको छ।
बिमस्टेकअन्तर्गत सुरक्षा क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यो पहिलो गृहमन्त्रीस्तरीय बैठकलाई सदस्य राष्ट्रहरूबीच सुरक्षा समन्वय विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। गृहमन्त्री गुरुङ अक्टोबर १२ मा नयाँदिल्ली प्रस्थान गरेका थिए। उनी अक्टोबर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ।






