काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला) पदको मतगणना अन्तिम चरणमा पुग्दा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन् ।
दुई जना निर्वाचित हुने यस पदका लागि कुल नौ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेकामा खतिवडा र शिवाकोटी विजयी भएका हुन् । रामहरि खतिवडा २ हजार ९१० मत प्राप्त गरी शीर्ष स्थानमा रहँदै जित पक्का भएको हो ।
दोस्रो स्थानमा रहेका अजयबाबु शिवाकोटीले २ हजार १७३ मत ल्याएर जित पक्का गरेका हुन् । शिवाकोटी र तेस्रो स्थानका डिल्लीराम सुवेदीको मतान्तर गन्न बाँकी मतभन्दा बढी भएसँगै शिवाकोटीको जित पनि निश्चित भएको हो । सुवेदीले १ हजार ८५२ मत प्राप्त गरेका छन् ।
चौथो स्थानका देवेन्द्रराज कडेलले १ हजार ३८२ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारहरूमा राजीव ढुङ्गानाले १ हजार २४१ मत (पाँचौँ स्थान), विकास कोइरालाले १ हजार १४९ मत (छैटौँ स्थान), अमृतकुमार अर्यालले १ हजार ३९ मत (सातौँ स्थान), रमेशप्रसाद धमलाले ८२१ मत (आठौँ स्थान) र विमलराज क्षेत्रीले २८२ मत (पुछारमा) पाएका छन् ।

