काठमाडौं : अब बैंक तथा वित्तीय संस्थाका एटीएम बाट एक सय रुपैयाँ दरका नोट पनि निस्किने भएको छ ।
नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहजता तथा नजिकिँदै गरेको चाडबाडमा बैंकहरूमा हुने भीडभाड कम गर्न एटीएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र लेख्दै यस्तो व्यवस्था मिलाउन भनेको हो ।
हाल बैंक तथा वित्तीय संस्थाहरूले एटीएम मेसिनबाट १ हजार र ५ सय रूपैयाँ दरका नोटहरू मात्र दिँदै आएका छन् । जसका कारण साना दरका नोट झिक्न ग्राहकहरू बैंकको काउन्टरमै पुग्नुपर्ने बाध्यता छ । विशेषगरी दसैँका बेला साना दरका नोट सटही गर्न बैंकहरूमा सर्वसाधारणको ठूलो भीड लाग्ने गर्छ ।
केही बैंकहरूसँग प्राविधिक तयारीबारे बुझ्दा एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्न सम्भव देखिएको राष्ट्र बैंकले जनाएको छ ।
