October 6, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

बक्स अफिसमा यशको ‘टक्सिक’ फ्लप

२०८३ भाद्र २५

205

हैदराबाद : कन्नड स्टार यशले चलचित्र ‘टक्सिक’ बाट भव्य पुनरागमन गरे पनि फिल्मले बक्स अफिसमा नराम्रो असफलता व्यहोरेको छ ।
आफूले निकै आशा गरेको र हिट हुनेमा विश्वस्त रहेको ५०० करोड भारुको ठुलो बजेटको यो फिल्म हलमा टिक्न सकेन ।
गीतु मोहनदास निर्देशित फिल्ममा उनी ‘रकिङ स्टार’ का रूपमा देखा परेका थिए । रिलिजअघिको व्यापक चर्चाका कारण फिल्मले बक्स अफिसमा बम्पर सुरुआत गरे पनि सामाजिक सञ्जालमा नकारात्मक समीक्षा र दर्शकको आक्रोशका कारण ओरालो लाग्यो ।
फिल्मले पहिलो दिन भारतमा १०१ करोड र विश्वभर गरी १४५ करोड भारुको शानदार कलेक्सन गरेको थियो । कन्नड सिनेमामा अहिलेसम्मकै सबैभन्दा ठुलो ओपनिङ गर्ने रेकर्ड बनाएपछि निर्माताहरू फिल्म ब्लकबक्सटर हुनेमा ढुक्क थिए ।
तर हलमा पुगेका दर्शकले फिल्म खासै मन पराएनन् र निरन्तर कमजोर समीक्षा आउनु नै यसको असफलताको प्रमुख कारण बन्यो । मात्र २ करोड रुपैयाँको बजेटमा बनेको ‘हनुमान अंश’ जस्ता साना फिल्मका अगाडि टक्सिक कमजोर साबित भयो । दोस्रो दिनमै फिल्मको कलेक्सन घटेर ३७ करोड भारुमा झ¥यो भने पहिलो सोमबारसम्म आइपुग्दा दैनिक कमाइ १० करोडमा समेटियो ।

हलमा ‘हनुमान अंश’ र त्यसपछि रिलिज भएको ‘मिर्जापुरः द मुभी’ सँगको प्रतिस्पर्धाले फिल्मलाई झनै सकस बनायो । रिलिजको १५ औँ दिन अर्थात् सेप्टेम्बर ९ सम्म आइपुग्दा भारतमा यसको दैनिक कलेक्सन ६० लाख र विश्वभर १ करोडभन्दा तल झरेको छ ।
सेप्टेम्बर १० सम्म भारतीय बक्स अफिसमा फिल्मले २४७ करोड र विश्वव्यापी रूपमा ३३९ करोड भारु मात्र सङ्कलन गर्न सकेको छ । २०० देखि ३०० करोडको कमाइ ठुलो देखिए पनि ५०० करोड भारुको भारी बजेटका कारण फिल्मले लागत उठाउन अझै २३० करोड कमाउनुपर्ने हुन्छ । बजेट र कमाइबिचको यो ठुलो अन्तरका कारण घाटाको हिसाबले यो फिल्म प्रभासको ‘आदिपुरुष’ भन्दा पनि ठुलो फ्लप बन्न पुगेको छ ।
तारा सुतारिया, नयनतारा, हुमा कुरेशी, कियारा आडवाणी र रुक्मिणी वसन्त लगायतका कलाकारको अभिनय रहेको यो चलचित्र गत अगस्ट २६ मा प्रदर्शनमा आएको थियो। सेन्सर बोर्डबाट बिना कुनै कटौती ‘ए’ रेटिङ पाएको यो फिल्म अहिले हलहरूमा अन्तिम सास फेरिरहेको छ ।