September 5, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

के साँच्चै शारीरिक व्यायामले यौन जीवन सुधार्छ ?

२०८३ भाद्र २०

115

एजेन्सी : यौन र शारीरिक व्यायाम कसरी एकअर्का जोडिएका छन् अनि व्यायामको प्रकार, समयले यसमा के–कस्तो असर पार्छ भन्नेबारे विज्ञहरूको मत निकै चाखलाग्दो छ ।
नियमित शारीरिक गतिविधिले शरीरको बनावट बदल्न वा मांसपेशी बलियो बनाउन त पक्कै मद्दत गर्छ । तर, विज्ञहरू यसले यौन इच्छा र क्षमता बढाउने पनि बताउँछन् ।
व्यायाम गर्दा हर्मोनहरूको स्राव र संवेदनशील अङ्गहरूमा रक्तसञ्चार तेज हुने र यसले हाम्रो मस्तिष्कलाई पनि यौनका लागि सही मानसिक अवस्थामा ल्याउन मद्दत गर्ने विज्ञहरू सुनाउँछन् ।
व्यायामले हाम्रो यौन जीवनलाई मुख्यतया दुईवटा बाटोबाट सुधार्ने काम गर्छ । पहिलो, यसले शरीरलाई उत्तेजनाका लागि सक्षम र तयार बनाउँछ ।

दोस्रो, मनमा आउने अनेकौं नकारात्मक वा डरका विचारहरूलाई हटाउन मद्दत गर्छ । जब शरीरमा रगतको आवतजावत राम्ररी हुन्छ, तब उत्तेजना हुन सजिलो हुन्छ । यसले महिलाहरूमा संवेदनशीलता बढाउँछ भने पुरुषहरूमा लिङ्ग उत्तेजित हुन र त्यसलाई कायम मद्दत गर्छ । दिनहुँ थोरै भए पनि दौडिने, योग गर्ने वा कम्मर र तल्लो पेटको कसरत गर्दा शरीरले राम्रो निद्रा पाउँछ, थकान मेटिन्छ र ऊर्जा बढ्छ ।

मानसिक रूपमा हेर्दा, व्यायामले मान्छेभित्र आत्मविश्वास जगाउँछ । दिमागमा धेरै सोच्ने बानी, चिन्ता र तनावले यौन इच्छालाई मार्ने काम गर्छ । तर व्यायामले दिमागलाई ती सबै नराम्रा सोचबाट टाढा राखेर आनन्दको महसुस गराउँछ ।
यद्यपि हामीले कस्तो प्रकारको व्यायाम गर्छौं, कहिले गर्छौं र कत्तिको कडा गर्छौं भन्ने कुराले पनि असर पारिरहेको हुन्छ । पसिना आउने गरी दौडिने, पौडी खेल्ने वा साइकल चलाउने जस्ता व्यायामले मुटु र रगतको बहावलाई बलियो बनाउँछन् । तर मानसिक शान्तिका लागि भने अरूले भनेको भन्दा पनि आफूलाई जुन व्यायाम गर्दा खुसी र आनन्द लाग्छ, त्यही रोज्नु सबैभन्दा राम्रो हुन्छ ।