नुवाकोट : भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डिअक्सिराइबोन्युक्लिक एसिड (डिएनए)परीक्षणको नमूना लिन नुवाकोटमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ ।
यसअघि नमूना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ जानुपर्ने बाध्यता रहेकामा बाढीप्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमूना संकलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा.दामोदर पौडेलले जानकारी दिए । उनका अनुसार बाढी परेर दिवङ्गत भई फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमूना लिएर परीक्षणपश्चात् पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
उनका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कारण हराइरहेको भनेर नुवाकोटमा दुई हजार ५६४ निवेदन प्राप्त भएका छन् । त्यसमध्ये हालसम्म १९२ शव प्राप्त भएकामा १८ जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।






