काठमाडौँ : सरकारले रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्दै आगामी भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकका निर्णयहरूबारे जानकारी दिँदै प्रवक्ता सस्मित पोखरेलले विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक मनाउन लागिएको बताए ।
बाढीमा परी मृत्युवरण गर्ने व्यक्तिहरूको १३ औँ दिनको पुण्यतिथिको अवसर पारेर भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।
उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने,’ निर्णयबारे जानकारी दिँदै प्रवक्ता पोखरेलले भने ।
उनका अनुसार बैठकले भदौ २३ गते जेनजी शहीद दिवसको रुपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।






