काठमाडौँ : रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनः स्थापनाका लागि १३ हजार २९५ सुरक्षाकर्मी, १५ हेलिकप्टर तथा विभिन्न निकायका विषयगत आपत्कालीन समन्वय टोली परिचालन गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)ले भदौ ११ गते राति १०ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्य सेवा, सञ्चार तथा विद्युत् पुनस्र्थापना, सडक सञ्चालन, राहत वितरण, अन्तर्राष्ट्रिय सहायता तथा सूचना व्यवस्थापनका लागि १२ विषयगत आपत्कालीन समन्वय टोली गठन गरी परिचालन गरिएको जनाएको हो ।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका छ र निजी क्षेत्रका नौ गरी १५ हेलिकप्टर उद्धार तथा राहत कार्यमा परिचालन गरिएका छन् । स्थलगत तथा हवाई उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रतिवेदनमा उद्धारसम्बन्धी विवरणअनुसार हालसम्म जम्मा एक हजार ९७६ जनाको उद्धार गरिएको उल्लेख छ । बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र बनाउन नेपाल प्रहरीका सात हजार २५०, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ गरी कुल १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।






