August 30, 2026, Sunday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

बाढी र पहिरोका कारण कहाँ–कहाँ छन् राजमार्ग अवरुद्ध

२०८३ भाद्र १२

145

काठमाडौँ : देशभर भइरहेको अविरल वर्षा र बाढी–पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार उपत्यका छिर्ने मुख्य नाकादेखि पहाडी जिल्ला जोड्ने सडकहरूमा आवागमन प्रभावित भएको छ ।
काठमाडौँको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक खण्ड बाढीको सम्भावित जोखिमका कारण गत भदौ १० गतेदेखि नै पूर्ण रूपमा बन्द गरिएको छ । यसले गर्दा उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका ठप्प प्रायः छ ।
इलाम जिल्लाको मेची राजमार्ग अन्तर्गत राजदुवाली (झापा–ताप्लेजुङ सडक) क्षेत्रमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि, त्यहाँ वैकल्पिक बाटो प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।
बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै बागमती प्रदेशका मुख्य राजमार्गहरूमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । वीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म यात्रामा पूर्ण रोक लगाइएको छ । दिउँसोको समयमा परिस्थितिको विचार गरी मात्र सवारी सुचारु गरिनेछ ।
कान्तिलोकपथको हेटौँडा–ठिंगन–बागमती–ललितपुर सडक खण्डमा बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
टोखा–छहरे खण्डको घट्टेपुल क्षेत्रमा रातको १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी साधन चलाउन निषेध गरिएको छ ।
रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेशी सडक खण्ड बाढीका कारण साउन ८ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध छ, जुन लामो समयसम्म रहने देखिएको छ। साथै रसुवाका अन्य मुख्य राजमार्गहरू पनि साउन १० गतेदेखि नै बन्द अवस्थामा रहेका छन् ।