जनकपुरधाम :भोटेकोसी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाली कम्युनिस्ट पार्टी संसदीय दल, मधेस प्रदेशले विपद्मा परेका नागरिकको खोज, उद्धार तथा राहतमा सक्रिय हुन एक दिनको तलब दिने निर्णय गरेको छ ।
विपद् व्यवस्थापनमा आफ्नोतर्फबाट योगदान गर्ने निर्णय गर्दै नेपाली कम्युनिस्ट पार्टीबाट मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूको एक दिन बराबरको तलब प्रदेशसभा मार्फत केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
संसदीय दलले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन राज्यका निकायसँगै नागरिक समाज, निजी क्षेत्र र आम नागरिकको भूमिका महत्वपूर्ण हुने जनाएको छ ।
दलले मधेस प्रदेशका बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा सञ्चारकर्मीलाई प्रभावित क्षेत्रमा आवश्यक सहयोग पु¥याउन आग्रह गरेको छ ।






