काठमाडौँ : नेपाली काँग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको समयमा नेपालका सबै राजनीतिक दल सरकारसँगै रहेको बताएका छन् ।
बिहीबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विपत्तिको समयमा नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिएर काम गर्ने परम्परा रहेको बताएका हुन् ।
उनले विपद्को घडीमा राज्यका सबै संयन्त्रसँगै राजनीतिक दल, निजी क्षेत्र तथा सामाजिक संघ–संस्थालाई समेत परिचालन गर्नुपर्ने बताए ।
हाल बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र तत्काल राहत पुर्याउन सबै पक्ष जुट्नुपर्ने उनको भनाई छ । बैठकमा गृहमन्त्रीले विपद् प्रभावित क्षेत्रमा पार्टीका कार्यकर्तालाई परिचालन गर्न आग्रह गरेको जानकारी दिँदै सभापति थापाले राजनीतिक दलका कार्यकर्तालाई परिचालन गर्न तयार रहेको बताए ।
उनले सबै राजनीतिक दलहरूलाई सडक सफा गर्ने तथा खोज र उद्धार कार्यमा सहभागी हुन आग्रह गरे । उनले सरकारले गरेको आग्रहअनुसार नेपाली काँग्रेसले आफ्ना विपद् व्यवस्थापन संरचनामार्फत कार्यकर्ता परिचालन गर्ने जानकारी दिए । विपत्तिमा सरकारसँग उपलब्ध स्रोत साधनबाट मात्रै उद्धार तथा राहतमा सम्भव नहुने उनको भनाई छ ।






