August 27, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

मधेस प्रदेश सभा बैठक अन्योलका कारण विकास योजना प्रभावित

२०८३ भाद्र ११

120

जनकपुरधाम : अन्य प्रदेशमा सरकार गठनको प्रक्रियाले प्रदेश सभा बैठक प्रभावित हुँदा तीन दलीय गठबन्धनले नै निरन्तरता पाएको मधेस प्रदेशमा समेत संसदीय गतिविधि ठप्प छ ।
सरकारको सिफारिसमा प्रदेश प्रमुखले बजेट अधिवेशन अन्त्य गरेपछि संसदीय गतिविधि ठप्प छन् । वर्षा, डुबानदेखि लिएर उपभोग्य वस्तुको मूल्य वृद्धि, विकास निर्माणका काममा ढिलासुस्ती लगायतका जनसरोकारका विषयबारे सरकारको ध्यानाकर्षण गराउनुपर्ने बेलामा प्रदेश सभाको अधिवेशन हठात् अन्त्य गरिएको भन्दै सांसदसमेत असन्तुष्ट देखिएका छन् ।
प्रदेश सभाको बैठक बस्न नसक्दा सांसदसमेत फुर्सदिला बनेका छन् भने जनताका समस्याबारे सरकारलाई खबरदारी गर्ने भूमिका पनि निष्क्रिय भएको छ ।
प्रदेश सभाको पछिल्लो बैठक बजेट पारित गर्न असार ३१ गते बसेको थियो । त्यस यता बैठक बसेन । बैठक नै बस्न नसकेको अवस्थामा एक्कासि प्रदेश प्रमुखले भदौ ६ गते सूचना जारी गर्दै प्रदेश सरकारको सिफारिसमा प्रदेश सभाको अधिवेशन अन्त्य भएको जानकारी दिए ।
मधेस प्रदेश सभाका सभामुख रामअशिष यादवले मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई प्रदेश सभाको बैठक चलाउन बारम्बार आग्रह गरे पनि सरकारले चासो नदेखाएको बताए । उनका अनुसार सदनलाई बिजनेस दिन मुख्यमन्त्रीलाई पटकपटक आग्रह गरिएको छ ।
नयाँ ऐन बनाउने, कतिपय पुराना ऐन संशोधन गर्न बाँकी रहेको जिकिर गर्दै सभामुख यादवले प्रदेश सभा बैठक अब कहिले बस्छ भन्नेबारे आफूलाई नै जानकारी नभएको प्रस्ट पारे ।
सरकारले दुई वटा काम तत्काल गर्नुपर्नेमा जोड दिँदै सभामुख यादवले भने, ‘एउटा मधेस प्रदेश सभालाई विधेयक दिनुपर्यो, बिजनेस दिनुपर्यो । बजेट पारित भएको हिसाबले विकास योजनाहरू सञ्चालन गर्नुपर्यो ।’
मुख्यमन्त्रीलाई यो विषयमा संवेदनशील हुन आफूले बारम्बार आग्रह गरेको बताउँदै सभामुख यादवले अबको १०–१५ दिनमा सदन सञ्चालन हुने गरी प्रयास गर्ने जानकारी मुख्यमन्त्रीबाट प्राप्त भएको प्रस्ट पारे । (रातोपाटीबाट)