काठमाडौँ : रसुवामा बुधबार आएको भीषण आकस्मिक बाढीका कारण ठुलो मानवीय क्षति हुनुका साथै घर, सडक, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारहरूमा व्यापक क्षति पुगेको छ ।
तिब्बत सीमा नजिकैको भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका गाउँहरूमा बाढीले ठुलो विनाश मच्चाएको छ । यस बाढीबाट रसुवा र यसका छिमेकी जिल्लाहरू सबैभन्दा बढी प्रभावित बनेका छन् ।
पछिल्लो जानकारी अनुसार बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने सयौँ मानिस अझै बेपत्ता रहेका छन् । खराब मौसम र सञ्चार सेवा अवरुद्ध भएका कारण अधिकारीहरूलाई प्रभावित क्षेत्रमा पुग्न र उद्धार कार्य अघि बढाउन कठिनाइ भइरहेको छ ।
यसैबिच प्लानेट ल्याब्सले खिचेका बाढीअघि र पछिका उपग्रह तस्बिरहरूले नेपालका विभिन्न क्षेत्रमा भएको विनाशको भयावह अवस्थालाई स्पष्ट रूपमा देखाएका छन् ।






