काठमाडौं : जिल्ला प्रहरी कार्यालय बाराका प्रहरीले चुहाएको नाबालिग बलात्कार र हत्याका आरोपी किशोरको भिडियो बयान ३८ वटामा प्रकाशित भएको खुलेको छ ।
प्रेस काउन्सिल नेपालका अनुसार सो भिडियो २४ वटा मिडियाहरूमा र १४ वटा गैर मिडियामा राखिएका थिए । बलात्कार पीडितको परिवारसहित कसैको पनि पहिचान सार्वजनिक गर्न नहुने र पक्राउ परेकाको उमेर १८ वर्ष मुनीको भए उनको पनि पहिचान गोप्य राख्नु पर्नेमा प्रहरीले नै पत्रकार सम्मेलन गरेर पक्राउ किशोर सार्वजनिक गरेको थियो । आइतबार बेलुकाबाट विभिन्न मिडिया र गैर मिडियाका सामाजिक सञ्जालका पेजहरूमा पक्राउ परेका किशोरको भिडियो सार्वजनिक भएको थियो । काउन्सिलले सार्वजनिक गरेको विवरण अनुसार अनुगमनको क्रममा मिडियाका रूपमा दर्ता भएका २४ वटा र गैर मिडियाका पेजमा १४ वटामा सो भिडियो राखिएको खुलेपछि उनीहरूलाई सो भिडियो हटाउन निर्देशन दिएको थियो ।
काउन्सिलका अनुसार २१ वटालाई फोन मार्फत निर्देशन दिइएको थियो । सञ्जालहरूमा पक्राउ परेका किशोरको बयान मात्र हैन जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक भएको किशोरको भिडियो समेत सार्वजनिक भएका छन् ।
बालमैत्री सञ्चार निर्देशिका र पत्रकार आचारसंहिताले यौन हिंसामा परेका बालबालिकाको पहिचान खुलाउन पाइन्न । अपराधमा संलग्न रहेको आरोपमा पक्राउ परेका वा दोषी प्रमाणित भएका १८ वर्ष मुनीका बालबालिकाको पहिचान समेत सार्वजनिक गर्न पाइन्न ।
नेपाल प्रहरीको साइबर ब्युरो पनि विभिन्न सञ्जालहरूमा राखिएको भिडियो हटाउन सक्रिय भएको थियो ।ब्युरोले त्यस्ता भिडियो राखेको भए हटाउन सूचना निकालेको थियो ।


