काठमाडौँ : बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले सोमबार बिहान ६ः३० बजेसम्मको विवरण अद्यावधिक गर्दै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका दर्जनौँ सडक खण्ड बन्द रहेको जनाएको छ ।
पछिल्लो समय परेको अविरल वर्षाले यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिन बनाएको छ भने कतिपय स्थानमा वैकल्पिक मार्गको प्रयोग भइरहेको छ । बागमती प्रदेशअन्तर्गत पृथ्वी लोकमार्गको धादिङस्थित गजुरी गाउँपालिका–२ चालिसेमा भदौ १ गते बिहान ५ः४५ बजेदेखि बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने बीपी राजमार्ग र मकवानपुरको हेटौँडा–ठिङ्गन हुँदै ललितपुर आउने कान्ति लोकपथमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । प्रहरीको अद्यावधिक विवरणमा ‘सम्भावित जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्मका लागि बिपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको’ उल्लेख छ ।
यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशीस्थित कोदारी र लिपिङमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा बन्द छ । रसुवाको उत्तरगयास्थित खाल्टेमा बाढीले त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक खण्ड पनि साउन ८ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध छ ।
कोशी प्रदेशमा अविरल वर्षाका कारण इलामको राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि त्यहाँ वैकल्पिक बाटो प्रयोग गरेर यात्रा गर्न सकिने व्यवस्था मिलाइएको छ । सङ्खुवासभाको भोटखोलास्थित सिरेक डाँडामा खाँदबारी–किमाथाङ्का सडक खण्ड पनि पूर्ण रूपमा बन्द छ । भोजपुरको बोखिममा मध्यपहाडी लोकमार्ग भने पहिरो पन्छाएर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।
गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित रुप्सेमा पहिरो खस्दा बेनी–जोमसोम सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ । सोही सडक खण्डको मुस्ताङस्थित कैकु खोलामा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेका छन् । लमजुङको मस्र्याङ्दीस्थित रामबजारमा पहिरोका कारण बेँसीसहर–मनाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहे पनि त्यहाँ वैकल्पिक बाटोको व्यवस्था छ । बागलुङको कालीगण्डकी करिडोर र बागलुङ–बेनी सडक खण्ड पनि पहिरोका कारण एकतर्फी मात्र खुला छन् । दुईतर्फी खुलाउन समय लाग्ने प्रहरीले स्पष्ट पारेको छ । उता लुम्बिनी प्रदेशको प्युठानस्थित रुमालेमा साउन ३१ गते खसेको पहिरोले भिंगृ–स्वर्गद्वारी सडक खण्ड अझै पनि पूर्ण रूपमा बन्द गराएको छ ।
कर्णाली प्रदेशको रुकुम पश्चिममा बाढी र पहिरोका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्ड दुई ठाउँमा अवरुद्ध भएको छ। आठबीसकोटको रिजेगार्ड खोला र पिपलचौरमा सडक पूर्ण रूपमा बन्द भएको हो । यसैगरी, सल्यानको कपुरकोटस्थित अरिङ्गालेमा पहिरो खस्दा राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको सडक विभाग र प्रहरीको तथ्याङ्कमा उल्लेख छ । अवरुद्ध सडकहरू खुलाउन सम्बन्धित निकायहरूले पहल गरिरहे पनि लगातारको वर्षाले काममा अवरोध पुर्याएको छ ।


