August 17, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

लम्पी स्किन रोगले रौतहटमा मर्न थाले पशु

२०८३ श्रावण ३१

165

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा देखा परेको लम्पी स्किन रोगको संक्रमणले विभिन्न गाउहरुको बाछाबाछी मर्न थालेका छन् ।
हालसम्म चन्द्रपुर नगरपालिका क्षेत्रभित्र ५० वटा भन्दा बढी पशुहरु लम्पी स्किन रोगबाट मरेको पशु प्राबिधिक राजन थापाले जानकारी दिएका छन । चन्द्रपुर नगरपालिका वार्ड नं. २ जुडिबेलामा मात्रै १० वटा भन्दा बढी पशु मरेको थापाले जानकारी दिए । लम्पी स्किन रोगबाट ग्रसित बिरामी पशुको उपचारमा किसानको हजारौँ रुपैयाँ खर्च भइरहेको छ भने अर्को तर्फ पशु धमाधम मरिरहदा किसानहरु दोहोरो मारमा परेका छन ।
नगरपालिकाभित्र पछिल्लो समय लम्पी स्किनको संक्रमण बढ्दै गएको अर्का पशु प्राविधिक रोशन लामाले बताए । उनका अनुसार नगर क्षेत्रका विभिन्न स्थानमा दर्जनौँ बाछाबाछी मरिसकेका छन् । रोग नियन्त्रणमा समयमै प्रभावकारी कदम नचालिए संक्रमण अझ फैलिन सक्ने उनको भनाइ छ । रोग फैलिएर पशु मर्न थालेपछि किसानले नगरपालिकासँग तत्काल खोपको व्यवस्था गर्न माग गरेका छन् ।
लम्पी स्किनका कारण पशु बिरामी भएपछि उपचार खर्च बढ्नुका साथै दूध उत्पादनसमेत घट्ने गरेको किसानहरू बताउँछन् । बाछाबाछी मर्न थालेपछि पशुपालनमा गरिएको लगानी नै जोखिममा परेको उनीहरूको गुनासो छ ।
चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजयकुमार काफ्लेले भने रोग नियन्त्रणका लागि नगरपालिकाले खोप खरिद गर्ने तयारी गरिरहेको बताएका छन् । उनका अनुसार खोप खरिद गरेर प्रभावित क्षेत्रमा रहेका गाई तथा बाछाबाछीलाई लगाउने तयारी भइरहेको छ ।
पशु प्राविधिकहरूका अनुसार लम्पी स्किन नियन्त्रणका लागि खोपसँगै संक्रमित पशुको पहिचान, समयमै उपचार, गोठको सरसफाइ तथा रोग फैलाउने कीरा नियन्त्रणमा समेत विशेष ध्यान दिन आवश्यक हुन्छ ।