काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विभाजित मनस्थितिमा रहेको नेपाली कांग्रेस एकढिक्का हुनेमा विश्वस्त रहेको बताएका छन् ।
कांग्रेस इतर पक्षको भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै कोइरालाले राष्ट्रियतालाई मजबुत बनाउन कांग्रेस मिल्नुको विकल्प नरहेको बताएका हुन् । ‘यतिबेला कांग्रेस विभाजित मनस्थितिबाट गुज्रेको छ । कांग्रेस एकढिक्का हुन जरुरी छ, कांग्रेस एकढिक्का हुन्छ भन्ने कुरामा विश्वस्त छु,’ कोइरालाले भने ।
कोइरालाले देशका अन्य शक्तिसँग पनि मिलेर काम गर्नुपर्ने बताए । ‘कांग्रेस एकढिक्का हुनेबित्तिकै अन्य दलसँग हामीले सहमति सहकार्य एकता गरेर अगाडि बढ्नुपर्छ,’ कोइरालो भने, ‘अन्य दल बाहेक देशमा अन्य शक्तिसँग पनि मिलेर काम गरेर राष्ट्रियतालाई मजबुत गर्न सके कांग्रेस मात्र होइन देशको पनि भविष्य उज्जवल हुनेछ ।’

